जनता टाइम्स

२३ असार २०७९, बिहीबार ०६:५५

बुढीगंगामा आज पुनः मतदान हुँदै : १ हजार २ सय सुरक्षाकर्मी परिचालन


बाजुरा, २३ असार । बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) स्थानीय तह निर्वाचनका लागि पुनः मतदान हुँदै छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षा स्रोतका अनुसार मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइनुका साथै मंगलबारदेखि संयुक्त सुरक्षा टोलीले गस्तीसमेत गरिरहेका छन् ।यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो ।

बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।यतिबेला भने सुरक्षा व्यवस्था कडा देखेर आम मतदाताहरूमा आफूले चाहेको उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने विश्वास बढेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पुनः मतदानको तयारी पूरा भएको बताए ।

‘कसैले पनि मतदान गर्न पाइएन भन्ने अवस्था आउन दिन्नौं,’ डीएसपी सूर्यबहादुर थापाले भन्नुभयो, ‘पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ ।’१० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ । मतदानस्थल रहेका १० विद्यालयमा एक साताअघि नै बिदा दिइएको छ । मंगलबारदेखि तीन दिनसम्म नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन्

।यसअघिको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र सशस्त्रका प्रमुखहरूलाई हटाएर नयाँ अधिकारीहरू पठाएको छ ।नगरप्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् । बुढीगंगामा प्रतिस्पर्धा पेचिलो हुनुमा खाती महान्यायाधिवक्ता खम्मबहादुर खातीका दाजु हुनु र बानियाँ एमालेका प्रभावशाली नेता कर्ण थापाका नातेदार हुनुले पनि प्रभावित गरेको धेरैको बुझाइ छ ।