जनता टाइम्स

२३ असार २०७९, बिहीबार १८:३२

जनार्दन शर्माले पेश गरेको बजेट पनि खारेज हुनुपर्छ : प्रेम सुवाल


काठमाडौं, असार २३ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गम्भीर आर्थिक अपराधमा संलग्न अर्थमन्त्रीको राजीनामा भइसकेको अवस्थामा उनले प्रस्तुत गरेको बजेट पनि खारेज गर्नुपर्ने अडान राख्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले यस्तो बताउनु भएको हो । ‘गोपनीयता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित भनिएको बजेट खारेज गरी नयाँ बजेट पेस गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीको पार्टी, गोपनीयता भंग गर्ने पार्टीका अध्यक्ष र सरकारका प्रधानमन्त्री दुबैलाई यसबारे जिम्मेवार बनाउनु जरुरी छ ।’

सांसद सुवालले यस्तै कांग्रेसका नेता शेखर कोइरालाले यो सरकारका पालामा संस्थागत भ्रष्टाचार बढेको भन्ने अभिव्यक्ति दिएकाले प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानबिन हुनुपर्ने उहाँले माग गर्नुभयो ।

‘नेकाका सभापतिका उम्मेदवार शेखर कोइरालाले यो सरकारको पालामा संस्थागत भ्रष्टाचार बढेको भन्नुभएकाले प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ,’ सुवालले भन्नुभयो । उहाँले मन्त्रिपरिषद्ले एसपीपी खारेज गर्ने निर्णयलाई ‘अध्ययन हुँदैछ’ भनेर पत्राचार नगर्ने परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई पनि कार्वाहीको माग गर्नुभयो ।