जनता टाइम्स

२८ असार २०७९, मंगलवार २१:२९

नाम मिल्दा राष्ट्र बैंकका गभर्नरलाई तनाव


काठमाडौं, असार २८ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेकपा एमालेको नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा आएको नाम आफ्नो नभएको प्रष्ट पार्नुभएको छ ।

एमालेको अर्थ तथा योजना बिभागमा गभर्नर अधिकारी रहेको भनी समाचार आएपछि उहाँले त्यो ब्यक्ति आफू नभएको प्रष्ट पार्नुभएको हो । ‘मेरो नाम कुनै एउटा पार्टीसँग जोडिएर आएको भन्ने कुरामा कुनै सत्यता छैन । म कुनै पार्टीसँग जोडिएको पनि छैन,’ गभर्नर अधिकारीले भन्नुभयो ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा अधिकारीको नाम समेटिएको भन्दै आज दिउसोबाट हल्ला गरिएको थियो । एमाले गठन गरेको अर्थ तथा योजना विभागको सदस्यको दोस्रो नम्बरमा एम अधिकारी भनेर राखिएको छ । तर एम अधिकारीलाई महाप्रसाद अधिकारी भनेर चर्चा सुरु भएको छ । सोही कारण गभर्नर अधिकारीलाई बिवादमा पार्ने कुचेष्टा समेत भएको छ ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको अर्थ तथा योजना विभागको सदस्यमा उल्लेखित एम अधिकारी अर्कै व्यक्ति रहेको भन्दै गभर्नर अधिकारी एमालेसँग कहिल्यै सम्बन्ध नरहेको बताउनु भएको छ ।