काठमाडौं, असार २९ । प्रधानमन्त्री शरबहादुर देउवाले अदालतको माध्यमबाट सत्तामा पुगेको आज एक बर्ष पूरा भएको छ । गत बर्षको असार २८ गते न्यायिक कूमार्फत सत्तामा पुग्नुभएका देउवाले यो एक देउवा सरकारले स्थानीय तहको निर्वाचन गराउनेबाहेक मुलुकका लागि एउटा पनि राम्रो काम गरेको पाइएको छैन ।
मुलुकभन्दा आफू कसरी सत्तामा रहिरहने भन्ने चिन्ताले यस अवधीमा डरलाग्दो काण्डमा पनि प्रधानमन्त्री चुपचाप मेरो पद टिकाउनु छ क्या भन्दै बस्दा मुलुकका सवै आर्थिक सूचकहरु नकारात्मकतिर गएका छन । सत्तामा बस्नेहरु भने मालामाल भएका देखिन्छन । देउवाले गतबर्ष आजकै दिन प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको थियो ।
देउवाले सरकार सम्हाल्नुभएको यो बर्ष चालु आर्थिक वर्ष अन्तिमतिर आइपुग्दा अर्थतन्त्रका महत्त्वपूर्ण सूचक सबै ऋणात्मक रहेका छन् । कोभिड महामारीको असर कम भए पनि यस अवधिमा निर्यातबाहेक सबै सूचक ऋणात्मक छन् ।
चालु आर्थिक वर्ष अन्तिमतिर आइपुग्दा अर्थतन्त्रका महत्त्वपूर्ण सूचक सबै ऋणात्मक रहेका छन् । कोभिड महामारीको असर कम भए पनि यस अवधिमा निर्यातबाहेक सबै सूचक ऋणात्मक छन् ।
चालु आर्थिक वर्ष हरेक महिना मूल्य वृद्धिले निरन्तर नयाँ रेकर्ड बनाउँदै गत जेठमा ८.५६ प्रतिशत पुगेको छ, जुन पछिल्लो ६ वर्षयताकै उच्च हो । यसअघि आर्थिक वर्ष ०७२/७३ मा औसत मूल्य वृद्धिदर ९.९३ प्रतिशत थियो । गत आर्थिक वर्षको अन्त्यमा मूल्य वृद्धि ३.६० प्रतिशत थियो । मुलुकको शोधनान्तर स्थिति गत जेठमा करिब २ खर्ब ७० अर्ब रुपैयाँले घाटामा छ । गत आर्थिक वर्ष अन्त्यमा शोधनान्तर १ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो । शोधनान्तर स्थिति गत साउनदेखि सबै महिना घाटामा छ ।
अघिल्लो महिनाको तुलनामा गत जेठसम्म शोधनान्तर घाटामा कमी आएको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । गत वैशाखको तुलनामा जेठमा शोधनान्तर घाटा करिब १८ अर्ब ६९ करोड रुपैयाँले घटेको छ । आयात वृद्धि हुँदै गएको तर रेमिट्यान्समा अपेक्षित सुधार हुन नसकेकाले चालु खाता घाटा र शोधनान्तरमा चाप परेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ ।
गत वर्ष असार मसान्तको तुलनामा चालु आर्थिक वर्षका ११ महिना (जेठसम्म) मा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २ खर्ब २३ अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंकका अनुसार गत जेठसम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ छ । गत वर्ष असारको तुलनामा यो करिब १६ प्रतिशतले कम हो । पोहोर असारमा यस्तो विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । गत जेठसम्म अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति गत वर्ष असारको तुलनामा १९.६ प्रतिशतले घटेर ९ अर्ब ४५ करोड कायम भएको छ । पोहोर यस्तो सञ्चिति ११ अर्ब ७५ करोड थियो ।
तर गत वैशाखको तुलनामा जेठमा यस्तो सञ्चिति करिब ३० अर्ब रुपैयाँले बढेको छ । यस अवधिमा रेमिट्यान्समा वृद्धि र थोरै भए पनि आयात नियन्त्रण भएकाले विदेशी मुद्रा सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षका ११ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । आयात गर्ने क्षमताका आधारमा उक्त सञ्चिति विगत ६ वर्षयताकै न्यून हो ।
चालु आर्थिक वर्षका ११ महिना (साउनदेखि जेठसम्म) मा रेमिट्यान्समार्फत ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो । चालु आर्थिक वर्षमा साउनदेखि चैतसम्म रेमिट्यान्स लगातार घटेको थियो । गत साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६, कात्तिकमा ७.५, मंसिरमा ६.८, पुसमा ५.५, माघमा ४.९, फागुनमा १.७ र चैतमा ०.६ प्रतिशतले रेमिट्यान्स घटेको थियो । वैशाखदेखि भने रेमिट्यान्सको वृद्धिदर सकारात्मक छ । गत वैशाखमा ०.२ प्रतिशत बढेको रेमिट्यान्स जेठमा ३.८ प्रतिशत वृद्धि भएको छ ।
चालु आर्थिक वर्षका ११ महिनामा १७ अर्ब ३५ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ । जबकि गत आर्थिक वर्षभरिमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । चालु आर्थिक वर्षको सुरु महिनादेखि विदेशी लगानी वृद्धिदर सकारात्मक रहे पनि रकमका आधारमा गत वर्षभन्दा यो वर्ष कम मात्र लगानी आएको देखिन्छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष एघार महिनासम्ममा निर्यात करिब ४४ अर्ब रुपैयाँले बढेको देखिए पनि आयात र व्यापार घाटा उल्लेख्य वृद्धि भएको छ । गत जेठसम्म मुलुकको कुल व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँ थियो ।
गत आर्थिक वर्षको अन्त्य (असार मसान्त) को तुलनामा यो आर्थिक वर्षको सोमबार (असार २७) सम्म पुँजीगत खर्च घटेको छ भने साधारण खर्च र राजस्व संकलन बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कर्जाको ब्याजदर ३.०८ प्रतिशत बिन्दुभन्दा धेरैले बढेको छ । गत जेठसम्म कर्जाको भारित औसत ब्याजदर ११.५४ प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो ब्याजदर ८.४६ प्रतिशत थियो । ६ महिनायता बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प पारेका छन् । कर्जा प्रवाह नबढे पनि बैंक तथा वित्तीय संस्थाको अन्य लागत बढेकाले ब्याजदर बढेको जानकारहरू बताउँछन् । राष्ट्र बैंकले कर्जाको ब्याजदर अझै बढ्न सक्ने संकेत गरेको छ ।













प्रतिक्रिया दिनुहोस्