जनता टाइम्स

२९ असार २०७९, बुधबार १५:५८

बागमती नदीको रौतहट खण्डमा डल्फिन भेटियो


काठमाडौं, २९ असार । माछा मार्ने क्रममा बागमती नदीको रौतहट खण्डमा डल्फिन भेटिएको छ । पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा पिपरा घाटमा गत हिजो डल्फिन भेटाउनुभएको हो । ‘माछा मार्न बागमतीमा जाल हान्न गएको थिएँ तर अनौठो खालको माछा जालमा पर्यो,’ सहनीले भन्नुभयो, ‘जालमा परेको माछा लिएर पिपरा बजारमा ल्याएपछि हेर्नेको घुँईचो लाग्यो ।’

करिब १२ केजीको उक्त माछालाई स्थानीय जनप्रतिनिधिले डल्फिन भएको बताएपछि आश्चर्यमा परेको उहाँले बताउनुभयो । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले बडहर्वा जाने क्रममा गत सोमबार नै बागमती नदीमा डल्फिन जस्तो माछाको एउटा ठूलो समूह नदीमा उफ्रिरहेको देखेको बताउनुभयो ।

उता, माछा विशेषज्ञ राधेश्याम झाले पनि सहनीले जालमा पारेको माछा डल्फिन नै भएको बताउनुभयो । ‘अब पिपरा घाटलाई व्यवस्थित गरेर डल्फिन संरक्षणमा लाग्नु पर्छ, डल्फिनका बारेमा जनतालाई सूसचित गर्नुपर्छ,’ झाले भन्नुभयो । गंगा नदी हुँदै डल्फिन बाग्मती आएको हुनसक्ने उहाँको अनुमान छ ।