जनता टाइम्स

२९ असार २०७९, बुधबार १८:३८

प्रश्न सोध्ने सांसदलाई रोष्टमबाट मन्त्री मनाङेको जवाफ : अत्ति इरिटेड भइसकेँ, मुख्यमन्त्री र अर्थमन्त्रीलाई सोध्नोस


पोखरा, असार २९ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलोपटक प्रदेशसभाको रोष्ट्रममा उभिएर जवाफ दिनुभएको छ ।

मन्त्री र सरकारलाई गाली गरेर सधैँ चर्चामा आइरहने मनाङे पहिलो पटक आफ्नो मन्त्रालयलाई उठेको प्रश्नमाथि जवाफ दिन रोष्ट्रम पुग्नुभएको हो । जवाफको क्रममा उहाँले रोष्ट्रममा पुगेर पनि सांसदहरूले उठाएको प्रश्न बाहिर सोध्न भनेका छन् ।

‘प्रश्नहरू सजिलो छ, तर मलाई प्रश्न गर्नेभन्दा अर्थमन्त्री र मुख्यमन्त्रीलाई सोध्नुपर्ने हो,’ आफ्नो जिल्लामा खेलकुदको बजेट नपरेको गुनासो सांसदहरूले राखेपछि जवाफ दिँदै मन्त्री मनाङेले भन्नुभयो, ‘मैले पनि शिक्षा मन्त्रालयबाट २ शीर्षकमा २५ लाख पाएको छु । वन, कृषि मन्त्रालयबाट एक रुपैयाँ पनि पाएको छैन । उनीहरूसँग रिसाएर हुन्छ ? त्यही भएर मलाई यहाँ आउन पनि मन लाग्दैन । आयो कि ग्राउण्ड कि ग्राउण्ड भन्छ । मत माननीयहरूको नाम पनि बिर्सिन्छु । कसले प्रश्न गर्नुभएको थियो, बाहिर भनेको भए रिस उठ्ने कुरा हो ।’

उहाँले रातो किताब सबै सांसद्ले पाएको भन्दै आफ्नो जिल्लाको कार्यक्रम हेर्न सुझाउनु भयो । ‘रातो किताब पाउनुभएको छ । त्यहाँ हेर्नुस् न । सबैमा बजेट परेको छ,’ उहाँले उल्टै भन्नुभयो, ‘दुई सय पाँचवटा ग्राउण्ड मैले गत वर्ष बनाएको छु । त्यो हेर्न सक्नुहुन्छ । कसैले पैसा लगेर बनाएको छैन भने, तपाईंहरू सांसद हो, समात्नुस् ।’

मन्त्री मनाङेले आफ्नो मन्त्रालयमा अत्यधिक सचिव सरुवा हुने कारणले काम गर्न नसकेको गुनासो पनि गर्नुभयो । उहाँले जसले पनि खेल मैदान मागेर आफूलाई हैरान बनाएको बताउनु भयो ।

‘अघि म ट्वाइलेट गएको त्यहाँ पनि चारजना आएर खेल मैदान हाल्देउ भन्छ । मैले खनेर बनाउने हो र ? मलाई त इरिटेड बनाए, पद नै दिउँ जस्तो लागिसक्यो,’ मनाङेले भन्नुभयो, ‘सर्वसाधारणको पनि आवाज आएको छ । हामीले चाहेर पनि धेरै गर्न सक्दैनौं । कि ५७ करोड दिनुपर्छ, नत्र मन्त्रालय नराखे हुन्छ । यसको काम पनि छैन । जुन मन्त्रीले केही गर्न सक्दैन, मन्त्रीको बेइज्जत हुन्छ ।’

मनाङेले आफू भाषण गर्ने मान्छे नभएकोले भाडामा पाए भाषण गर्ने मान्छे राख्ने बताउनु भयो । ‘तपाईंहरु जस्तो किन्तु परन्तु भनिनँ । म भाषण दिएर हिँड्ने मान्छे हैन, मेरो सट्टामा भाडामा कसैले भाषण गरिदिए, त्यसैलाई ल्याउथें । त्यसलाई १०–२० हजार दिन्थें,’ यसअघि कहिल्यै रोष्ट्रम नपुगेका मन्त्री मनाङेले थप्नुभयो, ‘म जबरजस्ती आएर बोलिरहेको छु । ब्राजिलमा पनि यति धेरै ग्राउण्ड छैन होला । तै पनि पुगेन भन्छ । तर, पनि मैले कोशिस गरेको छु । तपाईंहरुले धेरै इरिटेड गरिरहनुभएको छ । कि पद पनि लानुस् । कोही छ भने आउनुस, लिएर जानुस् । अत्ति इरिटेड भइसकेँ ।’