जनता टाइम्स

३० असार २०७९, बिहीबार १५:५४

तरकारी किन्न मिर्चैया बजार गएका युवक मृत फेला


सिरहा, ३० असार । तरकारी किन्न बजार जान्छु भन्दै हिजो घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला पर्नुभएको छ । मिर्चैया नपा–९ घुर्मीचोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उहाँको शव फेला परेको हो । हिजो अपरान्ह घरबाट प्र२–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उहाँ तरकारी किन्न मिर्चैया बजार जानुभएको थियो ।

तर, आज साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उहाँ चढेको मोटरसाइल सडको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ । प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर लडेको हुनसक्ने अनुमान गरेको छ । तर घटना संकास्पद रहेकाले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

घटनाको प्रकृतिअनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जस्तो देखिए पनि आशंक गर्ने ठाउँ रहेको उहाँले जनाउनुभयो । घरबाट हिजै निस्केका भए पनि गाउँबाट जन्ती जाने भएकाले जन्ती गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएका छन् । उहाँको मोटरसाइकलमा तरकारी सहितको झोला समेत भेटिएको छ ।