सप्तरी, ३१ असार । मिटर ब्याजका नाममा अपराधिक लाभ लिएका केही व्यक्ति पक्राउ परे पनि यस्ता अवैध लेनदेन/कारोबार भने रोकिएको छैन । सप्तरीमा एकपछि अर्को मिटर ब्याजीले सर्वस्व गुमाएको बिषयमा पत्रकार सम्मेलन गरेर न्याय माग्नेको लर्को लागेको छ । मिटरब्याजी प्रभु साह ऋणको फन्दामा परेर सर्वस्व गुमाउन लागेको भन्दा सप्तरीका एक दम्पतीले गत आइतबार न्यायका लागि गुहार मागे ।
राजविराज ७ का साहुकार प्रभु साहको ऋणको फन्दामा सर्वस्व गुमाउन लागेका राजविराज–६ का ओम प्रकाश क्षेत्री र उहाँकी पत्नी सीता न्यायका लागी पहल गरिदिन सबैसँग आग्रह गर्ने पछिल्लो पीडित बन्नुभएको छ । आफुहरूले लिएको ऋण तेब्बर ब्याजसहित चुक्ता गर्दासमेत ऋण लिँदा गरिएको कागज फिर्ता नगरिएको र बस्दै आएको एउटा मात्र घर पनि खाली गर्न साहले दबाब दिँदै आएको पीडित सीताले बताउनुभयो ।
क्षेत्री दम्पतीले आफुहरू छोरीको विवाहका लागि साहबाट १० वर्षअघि पटक–पटक गरी दुई लाख ५० हजार रुपैया ऋण लिए पनि तेब्बरको कागज बनाएर फसाएको आरोप लगाउनुभयो । आफूले लिएकोभन्दा धेरै रकम चुक्ता गरिसके पनि अहिले १७ लाख ३८ हजार ५१७ रुपैयाँ थप रकम नदिएसम्म कागज फिर्ता नगर्ने साहले अडान लिएको पीडित दम्पतीले बताउनुभयो ।
यसबारे टोलमा बसेको पञ्चायतले साह परिवारलाई राखी ९ लाख ५० हजार थप दिए कागज फिर्ता गरिदिने सहमति भए पनि सो रकमको व्यवस्था गरी कागज फिर्ता लिन जाँदा साह परिवारले दिन नमानेको र उल्टै गाली बेइज्जती गरी फर्काइदिएको सीताले बताउनुभयो । क्षेत्री दम्पतीले आफूहरू विश्वास गरेर ऋण लिएर साह परिवारले भने जस्तै कागज गरिदिएपछि अहिले घर न घाटको भएको बताउनुभयो ।
क्षेत्री दम्पतीले न्यायका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन पनि दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयले निवेदन परेकै दिन सक्कलै निवेदनसहित राजविराज नगरपालिकाको न्यायिक समितीलाई पत्राचार गरी उक्त विषयमा आवश्यक पहल गर्न अनुरोध गरेको पीडित दम्पतीले बताउनुभयो । नगरपालिका कार्यालयको न्यायिक समितिमा सो निवेदन दर्ता भइसकेकोले छ ।
उहाँहरूले पञ्चायतमा भएको सहमतिअनुसारको रकम तिर्न तयार भए पनि धितोबापत झुक्याएर मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न साह नमानेकाले सहयोगका लागि सबैसंग आग्रह गर्नुभयो । यसअघि मिटरब्याजीहरूकै कारण सप्तरीको छिन्नमस्ता बरही विरपुरका २५ वर्षीय संजीव मिश्र गत २ मंसिरमा राजविराजको एक होटलमा आत्महत्या गरेका थिए ।
जिल्लाकै मिटरब्याजी खडक नगरपालिकाका साहुकार रामदेव साह र कञ्चनरुप नगरपालिकाकी मिटरब्याजी साहुकार सरीता ठाकुरको मिटर ब्याजमा फसेर घरबारविहीन भएकाहरू अहिले दिनहुँजसो सडक प्रदर्शन गरिरहेका छन् । सप्तरीमा मिटर ब्याजमा फसेका पीडित बाहिरिने क्रम बढ्दैछ ।
समस्यामा परेकाहरूबाट नक्कली तमसुक बनाई चर्को असुली गरेर उठिवास गराउने कसुरमा हाल दुई जना मिटरब्याजी प्रहरी हिरासतमा रहेको र उनीहरू उपर ठगी तथा विश्वासघात कसुरमा मुद्दा अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्ले बताउनुभयो । प्रहरीले प्रभु साहलाई झिकाई छलफलमा गरेको छ । प्रवक्ता काफ्लेले दुई दिनभित्र उक्त समस्याको समाधान गर्न साहलाई निर्देशन दिएको जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस्