जनता टाइम्स

३१ असार २०७९, शुक्रबार १८:४९

प्राधिकरणले सुरु गर्यो १० वर्षे विपद् न्यूनीकरण महा–अभियान


काठमाडौं, ३१ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० वर्षे विपद् न्यूनीकरण महा–अभियान सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले महा–अभियान सुरु गरेको हो । कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले विस्तृत कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालको विपद् व्यवस्थापनमा महा–अभियानले महत्पूर्ण भूमिका खेल्ने बताउनुभयो । विपद् न्यूनीकरण महा–अभियान अन्तर्गत अब चाँडै नै राष्ट्रिय एवं स्थानीय विपद् जोखिम न्यूनीकरण स्वयंसेवकहरुको दस्ताको गठन गरी हरेक गाउँ र वडाहरुमा स्थानीय विपद् जोखिम न्यूनीकरण जनचेतनामूलक कार्यहरु सञ्चालन गर्न लागिएको पोखरेलले बताउनुभयो ।

कार्यक्रममा सहभागी व्यवस्थापन विज्ञ प्रमोद शर्माले कठिन आर्थिक परिस्थितीका बेला आएको महा–अभियानले नेपालका विकटभन्दा विकट क्षेत्रमा विपद् जोखिमबाट दैनिकरुपमा प्रभावित युवाहरुलाई समेटी स्थानीय प्रकोप न्यूनीकरण गर्ने कार्यमा कोशेढुंगा हुने जनाउनुभयो । कार्यक्रममा सहभागी नेपाल रेडक्रस सोसाइटीको प्रतिनिधि मोना अर्यालले देवकोटाले महाअभियानमा नेपाल रेडक्रसका सम्पूर्ण स्वयंसेवकहरु लगायत देशका विभिन्न क्षेत्रका युवाहरुले साथ दिने बताउनुभयो ।