जनता टाइम्स

१ श्रावण २०७९, आईतवार १४:२८

हेटौडामा तीन महिना अगावै पुल बनाउने निर्माण कम्पनीलाई पुरस्कार


मकवानपुर, १ साउन । तोकिएको समयभन्दा तीन महिनाअगावै पुल निर्माण गर्ने एलिट कन्स्ट्रक्सन कम्पनी प्रालि पुरस्कृत हुने भएको छ । हेटौंडा–११ नवलपुर र पदमपोखरी जोड्ने राप्ती नदीको पक्की पुल तोकिएको समयभन्दा तीन महिनाअघि नै निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनी पुरस्कृत हुने भएको हो ।

‘तोकिएको समयभन्दा तीन महिना अगाडि नै राप्ती नदीमा पुल निर्माण भएको छ,’ यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेव भण्डारीले भन्नुभयो,‘यसरी तोकिएको समय भन्दा अगावै निर्माण सम्पन्न गर्ने कम्पनीलाई दैनिक ०.०५ प्रतिशतका दरले बाँकी समयको रकम पुरस्कार स्वरूप रकम उपलब्ध गराउँदैछौं ।’ उहाँका अनुसार सो पुल २६ असोजभित्र निर्माण गरिसक्ने गरी ठेक्का लगाइएको थियो ।

बाग्मती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले दुई सय १५ मिटरको उक्त पक्की पुल २७ असोज ०७६ असोजमा निर्माण सम्झौता गरेको थियो । राप्ती नदीमाथि रहेको ४ स्पानको ११ मिटर चौडाइको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । बागमती प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ वटा पुल निर्माण भइसकेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । उसका अनुसार यसअघि पनि एउटा पुल समयअगावै निर्माण सम्पन्न भएको थियो ।