काठमाडौं, ३ असार । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा पत्रकार मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५-४ गोल अन्तरले हरायो । खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुईपटक अग्रता लिए पनि जोगाउन सकेन । मन्चको तर्फबाट बासु अवाल र दिल तामाङले समान दुई गोल गर्नुभयो ।
अभिनव जोशीको नाममा एक गोल रह्यो । अन्नपूर्णका लागि सन्तोष खड्काले दुई गोल गर्नुभयो । नीराजन श्रेष्ठ र नरेश खड्काले १–१ गोल थव्नुभयो । मैत्रीपूर्ण खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले गरेका थिए । विजेता मन्चलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गर्नुभयो ।
सो अवसरमा उनले विदेशमा रहेर पनि खेल क्षेत्रमा सक्रिय नेपालीहरूको प्रशंसा गर्दै नेपाली खेलकुद विकासका लागि सरकारले पनि नयाँ योजना अगाडि बढाइरहेको बताउनुभयो । नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देवेन्द्र सुवेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यहरूको प्रशंसा गर्नुभयो ।
अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आफूहरू सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गर्नुभएको थियो । सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथनका प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको क्लबक कप्तान सन्तोष खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्