काठमाडौं, असोज २० । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ मा फ्रान्सले बेल्जियमलाई ४–१ गोलले हराउँदै शानदार पुनरागमन जित निकालेको छ।
खेलको ३५औँ मिनेटमा डोडी लुकबाकियोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेको हो।
फ्रान्सका लागि डेजिरे डुएकले ७७औँ मिनेटमा बराबरी गोल गरे। त्यसको चार मिनेटपछि रायन चेरकीले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए।
माइकल ओलिसेले ८८औँ मिनेटमा तेस्रो गोल गरे। इन्जुरी समयमा ओलिसेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ४–१ को जित सुनिश्चित गरे।
जितसँगै फ्रान्सले चार खेलबाट १० अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा पकड बलियो बनाएको छ। बेल्जियम ६ अंकसहित तेस्रो स्थानमा छ।
यस्तै, अर्को खेलमा इटालीले टर्कीलाई ३–१ गोलले पराजित गर्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ।












प्रतिक्रिया दिनुहोस्