जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार २०:१९

३३ वर्षको इतिहासमा पहिलोपटक साफ च्याम्पियनसिप गुमाउँदै नेपाल


काठमाडौं, असोज १५ । नेपालले ३३ वर्षको इतिहासमा पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने भएको छ ।

बंगलादेशमा नोभेम्बर ४ देखि १७ सम्म हुने १५औँ संस्करणको साफ च्याम्पियनसिपका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले तोकेको समयसीमाभित्र अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको निलम्बन फुकुवा नभएपछि नेपाल प्रतियोगिताबाट बाहिरिने भएको हो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै असार १० गते अनिश्चितकालका लागि निलम्बन गरेको थियो । साफले सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भए नेपाललाई प्रतियोगितामा समावेश गर्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर निर्धारित समयसीमामा निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगिता गुमाउने भएको हो ।

यसपटक साफ च्याम्पियनसिपमा ६ टोली सहभागी हुँदैछन् । समूह ‘ए’मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् भने समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छन् ।

निलम्बन फुकुवा भएको अवस्थामा नेपालले समूह ‘ए’बाट प्रतियोगिता खेल्ने तय थियो । नेपालले यसअघिका सबै १४ संस्करणमा सहभागिता जनाएको थियो ।