जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार ०७:२७

८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान


काठमाडौं, असोज १२ । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

जापानको नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको हिट–१ मा कुमालले १ मिनेट ४८.९५ सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नुभएको हो ।

यसअघि कुमालकै नाममा १ मिनेट ४९.५५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । त्रिभुवन आर्मी क्लबका कुमाल आठ खेलाडी सहभागी हिटमा पाँचौँ स्थानमा रहनुभयो ।

नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि कुमाल फाइनलमा पुग्न सक्नुभएन । उहाँ २४ खेलाडीमध्ये समग्रमा आठौँ स्थानमा रहनुभयो ।

यसैबीच, एसियाडअन्तर्गत टेनिसको पुरुष डबल्समा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडी दोस्रो चरणमा प्रवेश गरेको छ । नेपाली जोडीले अब पहिलो चरणमा बाई पाएको भारतका ए चन्द्रशेखर र बी नारायणस्वामीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेता क्वार्टरफाइनलमा पुग्नेछ ।

महिला एकलमा नेपालकी स्वस्तिका बिष्ट जापानकी मोयुका उचिजिमासँग ६–१, ६–१ ले पराजित हुनुभयो । शिवाली गुरुङ दक्षिण कोरियाकी दायोन ब्याकसँग ६–१, ६–० ले पराजित हुनुभयो ।

मिक्स्ड डबल्सको पहिलो चरणमा शिवाली गुरुङ र प्रदीप खड्काको जोडी जापानका शुको ओयामा र युसेके कुसुहाराको जोडीसँग ६–०, ६–१ ले पराजित भयो ।