जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार ०८:५५

भारतीय ट्रेलरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु


काठमाडौं, ६ असार । मोरङको बुढीगंगा गाउँपालिका–२ मा भारतीय नम्बर प्लेटको ट्रेलर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आज विहान भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । ​मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीम बहादुर राई रहेको मोरङ प्रहरीले जनाएको छ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटको एफ आर ३८ एफ २२१० नम्बरको ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक परियार र सवार राई गम्भीर घाइते भएका र उपचारका लगि विराट मेडिकल कलेज लगिएको थियो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिने सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएको छ।