काठमाडौं, साउन ९ । साफ यू–२० च्याम्पियनसिपमा नेपालले सानदार सुरूवात गरेको छ । भारतको भुवनेश्वरमा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको हो ।
नेपालले खेलको ४१ मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि दिपेश गुरुङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका हुन । त्यसअघि कर्नर एसियाबाट कप्तान आयुष घलानले प्रहार गरेको फ्रिकिकलाई माल्दिभ्सका गोलकिपर शैहन अलीले पञ्च गरेका थिए । जसमा दिपेशले उत्कृष्ट गोल गर्न सफल भए ।
नेपालले ५८ मिनेटमा अग्रता दोब्बर पार्यो । नेपालका लागि सुगम सुवालले दोस्रो गोल गरे । यस्तै ६१ मिनेटमा नेपालले पेनाल्टीमार्फत तेस्रो गोल गर्यो । नेपालका लागि कृतिश रत्न छुन्जुले पेनाल्टीमा गोल गर्न सफल भए । कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय लिएका थिए ।
नेपालका लागि चौथो गोल मनग्य नकर्मीले दोस्रो हाफको इन्जुरी टाइममा गरेर ४–० को अन्तरमा पुर्याए । अब नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ । नेपालले ३१ जुलाईमा भारतसँग तेस्रो खेल खेल्नेछ भने समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग हुनेछ ।
समूह चरणपछि शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन । आजको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्