जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार १५:२०

चेस ओलम्पियाडमा सहभागी हुने चेस टोलीको बिदाइ


काठमाडौं, १० साउन । भारतको चेन्नईमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । सिंहदरबारमा आज संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवन राम श्रेष्ठले नेपाली टोलीलाई बिदाइ गर्नुभयो । नेपाली टोलीलाई बिदाइ गर्दै मन्त्री श्रेष्ठले सफलताको शुभकामना दिनुभयो ।

ओलम्पियाड जुलाई २८ तारिखदेखि अगस्ट ९ सम्म संचालन हुनेछ । ओलम्पियाडमा पुरुषतर्फ वर्तमान नेशनल च्याम्पियन पुरुषोतम चौंलागाईं सहित फिडेमास्टरद्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेटमास्टरद्धय विवेक थिङ तथा मिलन लामाले सहभागिता जनाउँदै छन् । त्यसैगरी महिलातर्फ नेशनल च्याम्पियन सुजना लोहनी सहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ रहेका छन् ।

सहभागी खेलाडी मध्ये रुपेशले २०१२(रसिया) एवं २०१८(जर्जिया) को अनुभव संगाली सकेका छन् भने सुजनासँग २०१६(अवरवैजान) तथा २०१८(जर्जिया) को अनुभव रहेको छ । त्यस्तै क्षितिज भण्डारी २०१६(अजरवैजान) तथा विवेक २०१८(जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन् । अन्य खेलाडीको हकमा चेन्नई ओलम्पियाड नयाँ अनुभव हुनेछ ।