काठमाडौं, १० साउन । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । आज बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
सोहीअनुसार जारी बैठकमा फरेन्सिक विज्ञको रुपमा प्रहरीको विधिविज्ञान प्रयोगशालाका दुई जना प्रहरी अधिकृत सहभागी छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थमन्त्रालयमा दुईजना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको हो ।
उक्त समितिको आज बिहान बसेको बैठकमा फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरेको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनपछि आफैं मेटिने भन्दै अर्थ मन्त्रालयले जवाफ दिएपछि समितिले फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिस्क नै पठाएर रिकभर गर्न लगाएको थियो ।













प्रतिक्रिया दिनुहोस्