जनता टाइम्स

११ श्रावण २०७९, बुधबार १५:५६

२३.८३ अंकले बढ्यो सेयर बजार


काठमाडौं, ११ साउन । सेयर बजार दोहोरो अंकले बढेको छ । हिजो घटेको बजार आज हरियाली भएर बन्द भएको छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ । आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन् । आज सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ । यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

गत शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंक र सोमबार ५४.४५ अंकले बढेको थियो । जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो । हिजो ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो ।