जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १५:५७

दश वर्षमा मेगा बैंकको १० अर्ब रुपैयाँ चुक्ता पुँजी


काठमाडौं, साउन  ७।  मेगा बैंक नेपाल लिमिटेडले स्थापनाको नौं वर्ष पार गरी दशौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी भव्य रुपमा समापन गरेको छ। बैंकले गत वर्ष जस्तै यस वर्ष पनि वार्षिकउत्सवको केक काटेको हो।

कार्यक्रममा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले  १० वर्षमा बैंकले १० अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको बताउनुभयो। २ अर्ब रुपैयाँ चुक्ता पुँजी राखेर स्थापना भएको थियो ।‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा लिएको मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन १९ अर्ब बढेर करिब ८२ अर्ब पुगेको सिइओ खुञ्जेलीले बताउनुभयो । यसैगरी, कर्जा प्रवाह पनि १५ अर्ब ५० करोड बढेर करिब ७३ अर्ब पुगेको छ भने ग्राहक संख्या पनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको उहाँले बताउनुभयो।

गत आर्थिक वर्ष २०७५/७६ को नौं महिनासम्ममा बैंकका विभिन्न सूचकहरुमा उत्साहजनक प्रगति भएको बताउंदै सिइओ खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताउनुभएको छ ।यससंगै सिइओ खुञ्जेलीले २८ ओटा बाणिज्य बैंकमध्ये मेगा बैंक चुक्ता पुँजी ठुलो भएको दोस्रो बैंक भएको बताउनुभयो।

मेगा बैंकले डिजिटाइजेशन र नवीनतम प्रविधिहरु भित्र्याएको बताउँदै क्यूआर कोड पनि त्यसकै उदाहरण भएको सिइओ खुञ्जेलीले बताउनुभयो। उहाँले राष्ट्र बैंकको मर्जर नीतिको प्रसंसा गर्दै बैंकले मर्जरको ५० प्रतिशत काम सकिसकेको  जानकारी गराउंदै आफूहरु मर्जरमा जानका लागि गृहकार्य गरिरहेको  पनि बताउनुभयो ।

सोही कार्यक्रमा सिइओ खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा गर्नुभयो । छोरीहरुको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले “शिक्षानै ज्योति अभियान” अन्तर्गत प्रत्येक शाखाबाट १/१ जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायताको शुरुवात भइसकेको जानकारी दिनुभयो। यस अभियानबाट छनौट भएका बालिकाहरुले आर्थिक अभावका कारण पढ्न नपाउने तथा बीचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुने बैंकले विश्वास गरेको छ । बालिकाहरुको उज्ज्वल भविष्यका लागि यो छात्रवृत्ति महत्वपूर्ण सावित हुने हाम्रो विश्वास छ । यसै वर्ष यस कार्यक्रम मार्फत बैंकले आर्थिक रुपमा कमजोर १०२ जना छात्राहरुलाई समावेश गरिसकेको छ । आगामी वर्ष यस छात्रवृत्तिको संख्या बैंकको शाखा विस्तार भएसँगै बढ्दै जाने बैंकको विश्वास छ।

बैंकले उक्त कार्यक्रममा  डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेलीले छिरिङका अभिभावक केदार बिनोद पाण्डेलाई हस्तान्तरण गर्नुभयो।

मेगा बैंकले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई हरेक वर्ष सहयोग गर्दै आएको छ ।

देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । यसैगरी, १०२ वटा एटीएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय मेगा रेमिट एजेण्टहरुको सञ्जाल फैलिएको छ । भने ग्राहक संख्या ६ लाख ४२ हजार पुगेको छ ।