जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार १५:२७

राजुराम भुललाई प्रकाश मानवअधिकार पुरस्कार


काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २८ औँ प्रकाश मानव अधिकार पुरस्कार सामाजिक अभियन्ता राजुराम भुललाई अर्पण गर्ने जनाएको छ ।

इन्सेककी अध्यक्ष डा। इन्दिरा श्रेष्ठद्वारा साउन १४ गते जारी विज्ञप्तिमा साउन ५ गते सम्पन्न कार्यसमितिको बैठकले शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील दशरथचन्द नगरपालिका–४ का राजुराम भुललाई ‘२८ औँ प्रकाश मानव अधिकार पुरस्कार’ बाट सम्मानित गर्ने निर्णय गरेको उल्लेख छ ।

इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले भुललाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको विज्ञप्तिमा जनाइएको छ ।

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।

नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ‘प्रकाश स्मृति दिवस’को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २७ जना सम्मानित भइसक्नु भएको पनि इन्सेकले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा साउन १६ गते काठमाडौँमा आयोजित कार्यक्रममा भुललाई सम्मान गर्ने विज्ञप्तिमा उल्लेख छ ।