जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार ०९:१३

हिरासतकी महिलालाई मध्य रातमा आफ्नो कोठामा लैजाने असई निलम्बित


काठमाडौं, १६ साउन । थुनामा रहेकी महिलालाई मध्य रातमाआफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईँ निलम्बित भएका छन् ।मुद्दा शाखामा कार्यरत चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन्।

बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार प्रहरी आचरण विपरितका काम गरेका चौलागाईँलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

‘मुद्दा दर्ता हुनासाथ चौलागाईँ निलम्बित भइसकेका हुन,’ न्यौंपानेले भन्नुभयो, ‘अदालतबाट सफाइ पाए मात्रै जागिरमा फर्किने सम्भावना रहन्छ नत्र जागिर जान्छ।’शुक्रबार बिहान २ बजे बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको थुनामा रहेकी एक महिलालाई असई चौलागाईँले मध्यरातमा निकालेर आफ्नो कोठामा पुर्याएका थिए।

त्यो थाहा पाएपछि प्रहरी थुनामा रहेका ब्यक्तिले होहल्ला गर्दै बिरोध जनाएका थिए। शनिबार पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा गएर असई चौलागाईँ बिरूद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन्। असई चौलागाईँले सोधपुछको बहानामा मध्यराति आफ्नो कोठमामा पुर्‍याई आफूलाई यौंन दुर्व्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ।