जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार १४:४९

भलिबल निर्वाचन : मास्केले भोलि उम्मेदवारी घोषणा गर्ने


काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) को आगामी निर्वाचनमा वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने हुनु भएको छ ।

मौखिक रुपमा यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आउनु भएकी मास्केले आगामी चार वर्षे कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी भोलि (मंगलबार) दिने हुनु भएको हो । ‘नेपाली भलिबलको आगामी बाटोसम्बन्धी मेरो अवधारणासहित अध्यक्षमा उम्मेदवारीको घोषणा गर्छु,’ मास्केले सूचना जारी गर्नु भएको छ । उहाँले दिउँसो २ बजे नेपाल हाउस हात्तीसारमा कार्यक्रम राख्नु भएको छ ।

एनभिएको आगामी निर्वाचन २२ भदौमा हुँदैछ । यस्तै, उहाँको समूहबाट मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी दिने बताउनु भएको छ । वर्तमान महासचिव जितेन्द्र चन्द समेत अध्यक्षका प्रत्यासी बन्ने जनाउनु भएको छ । आन्तरिक रुपमा तयारी गरे पनि औपचारिक रुपमा उहाँले उम्मेदवारी घोषणा भने गर्नु भएको छैन ।

वर्तमान कार्यसमितिको पदावधी दुई वर्षअघि नै सकिए पनि कोरोना महामारी र खेलकुद ऐनका कारण निर्वाचन हुन सकेको थिएन ।