जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार ०९:१४

कुमारी बैंकमा नयाँ सीइओ खनालको कमाल, ४३ प्रतिशतले बढाए नाफा


काठमाडौं ।  एउटा मान्छेको असल नेतृत्वले कतिसम्म फरक पर्नेरहेछ बैंकमा भन्ने पछिल्लो उदाहरण बन्नुभएको छ चार्टड एकाउन्टेन्ट रामचन्द्र खनाल । किर्ते काण्डमा मुछिएर बैंकबाट मनिष तिमिल्सीना र अनुजमणि तिमिल्सीना बाहिरिपछि बैंकको कमाण्ड खनालले सम्हालेपछि बैंकको उल्लेख्य प्रगति देखिएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष ७८/७९ मा कुमारी बैंकको खुद नाफा ४३.८७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा २ अर्ब ८३ करोड छ । आर्थिक वर्ष ७७/७८ मा बैंकले १ अर्ब ९७ करोड खुद नाफा कमाएको थियो ।

खनालले कमाण्ड सम्हालेपछि बैंकले एग्रेसिभ ग्रोथ लिएको छ । पछिल्लो वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड रहेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ५ अर्व ७ करोड पुगेको छ ।

यस्तो आम्दानी अघिल्लो बर्षको सोहि अवधिको तुलनामा २५.६७ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको निक्षेप २१.२१ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ११.२२ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब पुगेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ ।

पछिल्लो समय मेगा बैंकसँग मर्जरको अन्तिम तयारी भएर पनि भाँडिएपछि एक्लै हिड्ने रणनीति बोकेको बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड छ । यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ २७ पैसा छ भने प्रति शेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।