जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ११:१४

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित, ज्ञानेन्द्रको किर्तिमानी अर्धशतक


काठमाडौं, साउन ८

कप्तान ज्ञानेन्द्र मल्लको विस्फोटक कीर्तिमानी अर्ध शतकले नेपालले महत्वपूर्ण खेलमा मलेसियालाई पराजित गरेको छ । पहिलो खेलमा अप्रत्यासित हार ब्यहोरेको नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्न सफल भएको हो ।

आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले ८ औं ओभरमा तीन विकेट गुमाएर पुरा गर्न सफल भयो । नेपाललाई सहज जित दिलाउने क्रममा कप्तान मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्ल टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् ।

छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पुरा गरेका मल्ल अर्को बलमा क्याच आउट भए । मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ५१ रन बनाए । मल्लले पहिलो विकेटका लागि १२ रन बनाएका प्रदिप एैरीसँग ६६ रनको किर्तिमान साझेदारी गरे । मल्लको टी ट्वान्टी आईमा यो पहिलो अर्ध शतक हो भने नेपालबाट अर्ध शतक पुरा गर्ने पाँचौ ब्याट्सम्यायन हुन् । नेपाललाई जित दिलाउने क्रममा विनोद भण्डारीले अविजित १३ रन बनाउदा प्रदिप एैरीले १२ र दिपेन्द्रसिंह एैरीले १२ रन बनाए । यस्तै, शरद भेष्वाकरले ३ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ३० रन बनाए भने भिरनदिप सिंहले २१ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । तीब्र गतिका बलर कामीले सुरुवाती पहिलो ओभरमा दुई सफलता दिलाएका थिए । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्धीनलाई अभिनाष बोहोराबाट शुन्यमा पेभिलिएन फर्काए ।

त्यस्तै ओभरको अन्तिम बलमा सफिक सरार्फलाई पनि शुन्यमा एलबी डब्लू आउट गरेका छन् । सोमपालले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा अमिनुद्दिन राम्लीलाई बोल्ड गरेर तीन विकेट लिए । यस्तै बसन्त रेग्मीले दुई विकेट लिदा सन्दीप लामिछाने र करन केसीले एक एक विकेट लिए ।