जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार २०:२६

सप्तरीका तीन पालिकामा हाई अलर्ट जारी


सप्तरी, १८ साउन । उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेमा सप्तकोसी नदीमा कटान भएपछि सप्तरीको तीन पालिकालाई हाईअलर्ट जारी गरिएको छ । जिल्लाको सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सप्तरी प्रशासनले आग्रह गरेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको जानकारी दिनुभएको छ । सप्तकोसी नदीको छेउछाउमा रहेको बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन आग्रह गर्नेकाम भइरहेको एसपी काफ्लेको भनाई छ ।

सप्तकोसी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना बढी रहेको स्थानीयले बताएका छन् । यसैगरी कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिममा रहेको नगरप्रमुख ललन गुप्ताले जानकारी दिनुभयो । बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा चराउन र माछा मार्न नजान आग्रह सूचनासमेत दिइसकेको नगरप्रमुख गुप्ताको भनाई रहेको छ ।