जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार ०८:३८

सरकार बोलेन, भारतले कोसी ब्यारेजका ढोका खोलेन : २० हजार सर्वसाधारण विस्थापित


सुनसरी, साउन १९ । सप्तकोसी नदीमा आएको बाढीले धार परिवर्तन गरेर बस्तीमा पस्दा सुनसरी र उदयपुरका २० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन । अविरल वर्षापछि मंगलबार रातिबाट आएको बाढी पश्चिमतर्फको अस्थायी बाँध भत्काएर बस्तीमा पसेको हो ।

चतरा पुलमुनिको डुम्रीबोटेबाट पश्चिमतर्फ धार परिवर्तन गरेर कोसीको बाढी बस्ती परेको हो । बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं परिवारको बिचल्ली भएको छ । पानीको बहाव उच्च भए पनि भारतले कोसी ब्यारेजका सबै ढोका समयमा नखोलेका कारण बाढीले श्रीलंका टापुको मानव बस्ती र खेती योग्य जमिन तहसनहस बनाएको छ ।

बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ को श्रीलंका टापुका ५ सय घरपरिवारका २ हजार ५ सय जना विस्थापित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । यादवका अनुसार विस्थापित सबैलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

कटान तीव्र बनाएको कोसीको बाढी उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडामा समेत प्रवेश गरेको छ । यस क्षेत्रका २ हजार ३ सय घरपरिवारका १८ हजार सर्वसाधारण विस्थापित भएको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार विस्थापित भएकाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै वडा नम्बर ८ को सामुदायिक भवन, कोसी मावि, रामपुरको खसीबाख्रा संकलन केन्द्र, रेडक्रस भवन, जनता माविलगायतका स्थानमा राखिएको छ । कार्कीका अनुसार बाढीले थुप्रै घरहरू डुबाउनुका साथै खेतबारीमा लगाएको धान र तरकारी नष्ट गरेको छ । भारतले ब्यारेजका ढोका नखोलेकै कारण ३९ वर्षपछि कोसी पश्चिमतर्फ फर्किएको बराहक्षेत्र–६ श्रीलंका टापुका बासिन्दाले बताएका छन ।

स्थानीयका अनुसार २०४० सालसम्म अहिले बाँध भत्काएर प्रवेश गरेकै ठाउँ अर्थात् पश्चिमतिरबाटै सप्तकोसी नदी बग्थ्यो । त्यसपछि धार परिवर्तन गरेर पूर्वतर्फ हानियो । धार परिवर्तन गरेर पूर्वतर्फबाट कोसी बग्न थालेपछि पश्चिममा बस्ती बसेको हो । अहिले कोसी पुरानै धारमा फर्किएको स्थानीयको भनाई छ ।

कोसीको बाढी श्रीलंका टापु प्रवेश गरेपछि बासिन्दा सुरक्षित स्थानतर्फ गएका छन । घरमा भएका भाँडावर्तन, लत्ताकपडा लिएर चौपाया डोर्याउँदै घर छाडेर स्थानीय सुरक्षित स्थानमा गएका हुन । स्थानीयका अनुसार बाढी डुम्रीबोटे हुँदै सिसौलीघाट, धौरी टापु, चिलिमे, श्रीलंका टापुतर्फ प्रवेश गरेपछि सयौं घर उच्च जोखिममा परेका छन ।

भारतले कोसीको दुवैतर्फ तटबन्ध निर्माण गर्नुपर्ने भए पनि पूर्वतर्फमात्र तटबन्ध निर्माण गरेको छ । तटबन्ध निर्माण नगरेका कारण कोसीले पश्चिमतर्फ कटान गरेको हो । नेपाल–भारत सरकारले गरेको कोसी सम्झौताअनुसार दुवैतर्फ तटबन्ध निर्माण गर्नुपर्ने र कोसीले विस्थापित गरेका सर्वसाधारणको क्षतिको मूल्यांकनअनुसार क्षतिपूर्ति दिनुपर्ने भए पनि भारतले कोसी सम्झौताको पालना नगर्दा बर्सेनि आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले धनसम्पत्ति, घरखेत र आफन्त गुमाउनु परेको स्थानीयको भनाई छ ।

कोसी अनियन्त्रित बन्न थालेपछि ब्यारेजका सबै ढोका खोल्न र नदी नियन्त्रण गर्न स्थानीयले सरकारसँग माग गरेका छन । स्थानीय प्रशासनले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरे पनि कटान नियन्त्रणमा सम्भव हुन सकिरहेको छैन। विस्थापित भएकालाई सुरक्षित स्थानतर्फ सारिए पनि सर्वसाधारणका गाईभैंसी, गोरु, राँगा, खसीबाख्रा, कुखुरा र सुंगुरहरू अलपत्र परेका छन । धेरैले पालेका कुखुरा र सुँगुर बाढीमा परेर मरेका छन । बाढीले घरपालुवा जनावर र पन्छी मर्दा स्थानीयलाई ठूलो नोक्सानी भएको छ ।

एक महिना अगाडि पनि यस क्षेत्रमा कोसीले तीव्र कटान गरेको थियो । कटानलगत्तै गृहमन्त्री बालकृष्ण खाँड हेलिकप्टरमा कोसीको निरीक्षण गर्न आए पनि रमितत हेरेर फर्किनु भयो । कोसीले महिनादिन अगाडि नै विधंश मच्चाउँदासमेत यस क्षेत्रबाट निर्वाचन जितेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की (सुनसरी क्षेत्र नम्बर ४) र परराष्ट्रमन्त्री डा. नारायण खड्का (उदयपुर क्षेत्र नम्बर १) ले कोसी नियन्त्रणको पहल नगरेको स्थानीयको आरोप छ ।

खोलिएन ब्यारेजका ढोका

सप्तकोसीले पश्चिमको अस्थायी तटबन्ध भत्काएर कटान गर्दासमेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न अटेर गरेको छ । सुनसरी प्रशासनको आग्रहलाई समेत बेवास्था गर्दै भारतले कोसी ब्यारेजका ढोका खोल्न नमानेको हो।

सप्तकोसीमा सोमबारदेखि पानीको बहाव बढिरहेको छ। सप्तकोसीमा बुधबार पानीको बहाव बुधबार साँझ साढे ६ बजे प्रतिसेकेन्ड २ लाख ४३ हजार १८० क्युसेक छ । पानी अझै बढ्ने क्रममा छ । कोसी परियोजनाका भारतीय अधिकारीहरूले सप्तकोसी नदीको नेपाली भू–भागमा गर्नुपर्ने काममा बेवास्ता गर्दा सर्वसाधारणको उठिबास भएको छ । वर्षायाम सुरु हुनेबित्तिकै सुनसरीको बराहक्षेत्र नगरपालिका–३ को चिलीया टापु र ९ को गरैया टापुमा कटान हुन थालेको थियो। तत्काल रोकथाम नगरिए ५ सय परिवारको उठिबास हुने भन्दै नियन्त्रणका लागि नगरपालिकाले पत्राचार गरेको थियो।

नेपालस्थित कोसी परियोजनाको कामको सम्पूर्ण लेखाजोखा राख्ने सम्पर्क तथा भू–आर्जन कार्यालयमा असार ६ गते नै नगरपालिकाले पत्राचार गरेको हो। कार्यालयले नगरपालिकाले पठाएको पत्रको आधारमा परियोजनाअन्तर्गतको बाढी नियन्त्रण एवं जलनिस्सरण जल संसाधन विभाग वीरपुरलाई असार २३ गते पत्राचारसमेत गरेको थियो। स्थानीयको मागअनुसार भू–आर्जन कार्यालयले एक महिनाअघि नै सुनसरीका कार्यालय प्रमुखहरूले निर्णय गरेको पत्र पनि भारतीय अधिकारीलाई पठाएको थियो।

बहुचर्चित नेपाल–भारत कोसी सम्झौता–१९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले नेपाली भू–भागमा काम गर्ने गर्दा बेलाबखत सास्ती खेप्नु परेको गुनासो स्थानीयको छ । सम्झौताअनुसार सप्तकोसी नदीको नेपाली भू–भागमा हुने कामको विवरण राख्न विराटनगरमा सम्पर्क भू–आर्जन कार्यालय स्थापना गरे तापनि अन्य विषयमा परियोजनाअन्तर्गतको बाढी नियन्त्रण एवं जलनिस्सरण जल संसाधन विभाग वीरपुरले बेवास्ता गर्ने गरेको छ । उक्त कार्यालयले काम गरे पनि नेपाली अधिकारीहरूसँग सल्लाह र जानकारी लिने गरिएको छैन। आवश्यकताअनुसार मर्मत र सम्भारको काम नगर्दा कटानको सामना गर्नु परेको छ ।