जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १२:५७

मधेश प्रदेशमा सर्पदंशको बिगबिगी


जनकपुरधाम, २० साउन । मधेश प्रदेशका जिल्लामा गर्मी र वर्षायामा कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको छ । प्रादेशिक अस्पाताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंशका विरामी उपचारको लागि आउने गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा।मुकेश यादवका अनुसार सर्पदंशका विरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेका छन् । गत असार महिनामा १५० जना सर्पदंशका विरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

तराई मधेशका जिल्लाहरूमा प्रत्येक वर्ष जेठदेखि असोजसम्म विषालु सर्पको बिगबिगीहुने गरेको र यी महिनाहरूमा सर्प दशंकका बिरामी बढी आउने गरेका डा यादवले बताउनुभयो ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंशका बिरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा.यादवले भन्नुभयो, ‘उपचारका लागि समयमै आउने अधिकांश विरामी निको हुन्छ । तर, समयमा स्वास्थ्य उपचार नगराई धामी झाक्रीकहाँ झारफुकको लागि जाने र बिरामीको अवस्थानाजुक भएपछि मात्रै आउने बिरामीलाई उपचार गर्न हामीलाई कठिनाइ हुन्छ ।’

गाउँघरमा अझै पनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका बिरामीलाई धामीझाँक्रीकहाँ लगिने गरेको घटनाहरू हुदै आएको छ ।