जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १६:३९

न्याय माग्दै फेरि आमरण अनशनमा बसेकी निहारिकामाथि सरकारी ज्याद्धती, बच्चासहित उठाइयो


काठमाडौं, साउन २० । न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बस्नुभएको छ । ‘कुमारी आमा’को रुपमा चिनिनु भएकी निहारिका आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बस्नुभएको हो ।

दुई वर्षको बच्चासहित आमरण अनशनमा बस्नुभएकी निहारिकालाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ । यसअघि उहाँको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाउनु भएको थियो । तर, आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उहाँ पुनः आमरण अनशनमा बस्नुभएको हो ।

१७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उहाँले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बस्नुभएको हो । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उहाँको भनाइ छ ।

जिल्ला अदालतले आरोपीलाईसफाइ दिएपछि जनकपुर उच्च अदालतमा पुनरावेदन गर्नुभएकी निहारिकाले हालसम्म न्यायको अनुभूति गर्न नसकेको बताउँदै आउनु भएको छ । उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको उहाँको गुनासो छ ।