जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १७:४९

बिराटनगर भन्सारमा पनि जनार्दनको छाँया


बिराटनगर, साउन २० । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको हो । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ । कार्यालयले सङ्कलित राजस्वमा भन्सार महसुल रु १५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि कर रु २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क रु दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट रु एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७७÷७८ मा कार्यालयले कूल रु ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

अर्थमन्त्री जनार्दन शर्माले बैध च्यानल भन्दा अबैध च्यानल प्रयोग गर्न प्रोत्साहित गर्ने र माफिया पोस्ने नीति लिएपछि सवैजसो भन्सार नाकामा राजव्स असुली घटेको छ । बिराटनगर भन्सारमा पनि अर्थमन्त्री शर्माका कालो छाँया परेको देखिएको हो ।