काठमाडौं, २५ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।भारतीय आई लिग छनोटका लागि दिपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीमा अनुबन्धित हुनुभएको थियो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले बिदाइ गरेको हो । सोही प्रतियोगिताका लागि शनिबार नै राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी भारत पुगिसक्नुभएको छ । उहाँले भारतको गोकुलम केरलाबाट खेल्नुहुनेभएको छ । उक्त प्रतियोगितामा सावित्राको टिम गोकुलम, दिपाको टिम डनबोस्को केरला ब्लास्टर र केरला युनाइटेडले छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सावित्राले यसअघि सन् २०१९ मा सेथु र २०२१-२२ मा गोकुलमबाट ‘इन्डियन वुमेन्स लिग’ खेलेर उपाधि जिताइसक्नुभएको छ । दीपाले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न लाग्नुभएको हो । आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरला र केरला युनाइटेड तथा बिहीबार डन बोस्कोले लड्स पीआरविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्