ललितपुर, साउन २५ । ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् ।
नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरु बन्दीहरू आन्दोलित बनेका हुन् । कारागार प्रशासनका एक कर्मचारीका अनुसार बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् । ४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा दुई समूहबीच झडप समेत भएको थियो ।
कारागार प्रमुख सुवास लामिछानेले भने सीमित व्यक्तिविरुद्ध अर्को समूहले नाराबाजी गरेको बताउनु भयो । विरोधको क्रममा कारागारभित्र कुटपिट पनि भएको हुनसक्ने उनले बताए । तर यसबारे छानबिन हुने उहाँको भनाइ छ ।
कारागारभित्र भने बन्दीहरूका नाइकेले नयाँ बन्दीहरूसँग पैसा असुल्ने, महंगोमा सामान बिक्री गर्ने जस्ता दुःख दिने गरेको असन्तुष्ट समूहको गुनासो छ । साथै नाइकेलाई कारागार प्रशासनले पनि कारबाही नगरेको भन्दै कारागार प्रशासनविरूद्ध पनि नाराबाजी गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्