जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १३:१४

अछामका तीन पालिका समपुरक र विशेष अनुदानबाट बन्चित


अछाम, २७ साउन । अछामका स्थानीय तहको लागि सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट विशेष र समपुरक गरी करिब ५ करोड रुपैयाँ प्राप्त भएको छ । चालु आर्थिक बर्ष २०७९/८० मा समपुरक अनुदानतर्फ २ करोड ७० लाख २० हजार र विशेष अनुदान तर्फ २ करोड गरी कुल ४ करोड ७० लाख २० बजेट प्राप्त भएको हो ।

समपुरक अनुदानतर्फ जिल्लाका ७ वटा स्थानीय तह र विशेष अनुदानतर्फ ८ वटा पालिकालले अनुदान प्राप्त गरेका छन् । समपुरक अनुदानमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका, मेल्लेख र ढकारी गाउँपालिका अनुदान पाउनबाट बन्चित भएका छन् ।

यस्तै विशेष अनुदानतर्फ पन्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाले अनुदान प्राप्त गर्न सकेनन् । पन्चदेवल विनायक नगरपालिका भने समपुरक र विशेष गरी दुवै अनुदानबाट बन्चित भएको छ ।

जिल्लामा सबैभन्दा बढी समपुरक अनुदान प्राप्त गर्ने रामारोशन गाउँपालिकाले ८१ लाख ४० हजार र कम प्राप्त गर्ने चौरपाटी गाउँपालिकाले २० लाख पाएको छ । ६ वटा पालिकाले एकरएक योजनाको लागि अनुदान पाएका छन् भने रामारोशन गाउँपालिकाले तीनवटा योजनाको लागि अनुदान पाएको छ ।

रामारोशन गाउँपालिका- २ चाफामाण्डौं चिलयात्रा वस्ती विकासको लागि ४४ लाख, वडा नम्बर १ मलातिकोट स्थित लघुजलविद्युत् योजनाको लागि २४ लाख ७३ हजार र वडा नम्बर २ चाफामाण्डौंको कैलाश खोला लघुजलबिद्युत योजनाको लागि १२ लाख ६७ हजार गरी ८१ लाख ४० हजार रुपैयाँ प्राप्त भएको छ ।

चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकटमा निर्माण हुने चौमुखी पतलचौर ग्रामिण सडक निमार्णको लागि २० लाख रकम प्राप्त गरेको छ । त्यस्तै तृर्माखाँद गाउँपालिका वडा नम्बर १ को भुलु राहापा सडक निमार्णको लागि ६० लाख, बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर १ कोटघर गाँज्रा सडक कालोपत्रेको लागि ३७ लाख ५० हजार, मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँको खडखडे खानेपानी योजनाको लागि २५ लाख ३० हजार रुपैयाँ प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट विनियोजित भएको छ ।

यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथमा निर्माणाधीन सूर्यचन्द्र व्यावसायी नमुना मावि छात्रवास निर्माणको लागि २४ लाख र कमलबजार नगरपालिकाको हल निर्माणका लागि २२ लाख रकम विनियोजित भएको छ । समपुरक अनुदान प्राप्त गर्ने पालिकाले आधा रकम व्यहोनु पर्नेछ ।

यस्तै विशेष अनुदानतर्फ जिल्लाका ८ वटा स्थानीय तहले समान २५/२५ लाखका दरले २ करोड अनुदान प्राप्त गरेका छन । साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको दोगाडे खानेपानी योजना, मेल्लेख गाउँपालिका वडा नम्बर १ ऋषिदहको भवन निर्माण, चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडामा वृहत खानेपानी योजना अन्तर्गत एक घर एक धारा निर्माण र बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन स्वास्थ्य चौकी भवन निर्माणका लागि २५/२५ लाख रुपैयाँ प्राप्त भएको छ ।

रामारोजन गाउँपालिका वडा नम्बर ७ सुतारका ऐडीओड बान्निविस्ना सडक निर्माण, मंगलसैन नगरपालिकामा खोप व्यवस्थापन रेफ्रीजेरेटर स्थापना, ढकारी गाउँपालिका वडा नम्बर १ ढकारीमा खडिका रुख तल्लोे बासल्ला खानेपानी योजना र कमलबजार नगरपालिका वडा नम्बर ३ वयालास्थित नेपाल राष्ट्रिय मावि भवन निर्माणका लागि पनि समान २५/२५ लाख रुपैयाँ प्राप्त भएको छ ।

समपुरक अनुदान प्रदेश सरकार र स्थानीय सरकारले आधारआधा बजेट भए पनि विशेष अनुदानका योजना भने प्रदेश सरकारको लागतमा निर्माण हुनेछन् ।