जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार ०९:२९

७३ दिनपछि शुरु भएको कोरोनाबाट २८ दिनमा ३२ जनाको मृत्यु


काठमाडौं, २८ साउन । साउन लागेपछि कोरोना भाइरसको संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । साउन १ देखि २७ गतेसम्म ३२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो पटक वैशाख २१ गते देखि असार अन्तिमसम्म कोरोना भाइरस संक्रमणबाट एकजनाको पनि मृत्यु भएको थिएन । तर ७३ दिनपछि साउन १ गते १ जना संक्रमितको मृत्यु भएछि लगातार कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या थपिएको छ ।

साउन २६ गते सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु भएका व्यक्तिहरु र्दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप नलगाउने, दिर्घरोगी र ५० वर्षभन्दा माथीको उमेरका धेरै मानिसको कोरोनाका कारण निधन भएको छ । यस अवधिमा मृत्यु हुने मध्ये ६ जनाले मात्र खोप लगाएको पाइएको अधिकारीले बताए । त्यस्तै मृत्यु हुने एक जना मात्रै २१ वर्षका व्यक्ति छन, जो प्रत्यारोपण गराएका व्यक्ति थिए । मृत्यु हुने अरु ७२ जना ५० वर्ष भन्दा धेरै उमेरका व्यक्तिहरु छन् ।

नेपालमा हालसम्म कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५।१ प्रतिशतले एक मात्रा र ७०।७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । त्यसैगरी लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३।९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएका छन् । नेपालले हालसम्म कुल ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप भित्रिएको छ । खोप अभियान सुरु भएदेखि ४ करोड ९९ लाख ७५ हजार ९२९ खोप मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांकमा छ ।