जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार १२:०९

यत्ति काम गरे आउँछ एमालेकै बहुमत


दिल्लीमा गएर ङिच्च गरेको, एमसिसिमा आफैले पिच्च थुकेको, हत्तेरी भन्दै त्यै थुक ल्याप्प चाटेको, अनि सिसिटिभी मुसोले बजेटका महँगा लुगा कुत्रुकुत्रु काटेको, बिहेको जग्गेमै वधूपक्षले कन्यादान गर्दा हाताहाती वरपक्षले नागरिकता प्रमाणपत्र दान गर्ने व्यवस्था मिलाएको, महँगीको चुली खडा गरेको जस्ता अनेकौँ चमत्कारी छलाङ्का विभिन्न जात्रा जनताले देखेकै छन् । त्यसैले यस्तो नान्जाती सरकार मुलुकमा आओस् भनेर जनताले चाहने त कुरै छैन, यसलाई कहिले विदा गर्ने होला भनेर व्रत बसेका छन् र त्यसको साङ्गे मसिर ४ गते गर्ने सुरमा पनि छन् ।

डा. ऋषिराम शर्मा

नेपाली जनताको मुड मुलुकमा राष्ट्रको पक्षमा अडान लिने स्थिर सरकार बनोस् भन्ने छ, तर यसका लागि एमालेको मुड आक्रामक होस् भन्ने जनताको चाहना छ । वामगठबन्धन नामको कुहेको दबाइका पछि लाग्ला र फेरि आफ्नो मत लगेर फटाहाहरूले लिलामी गर्ने हुन् कि भन्ने भय पनि जनतामा छ ।

परमादेशबाट जन्मेको गठबन्धनका नाममा भागशान्ति जयनेपाल गरेर सिनो लतारेझैँ पाँचवर्ष घिसारेर चलाइने जरासन्ध सरकार बनोस् भन्ने चाहना नेपाली जनताको पटक्कै देखिन्न । एक्लै लडेर जनतासँग हात थापेको भए नेपाली काङ्ग्रेसलाई तै तै बहुमत दिन नेपाली जनता तयार हुन्थे पनि होलान् ! धेरै बुढो भए वा सानो छँदा बिरालो मारेको छ भने पनि मान्छेका हात काम्छन् भन्छन्, खै कुन्नि किन हो बूढो दल भएर हो वा“किलो शेरा टू” जस्ता अपरेसनका नाममा धेरै जनतालाई बिरालो मारेझै मारेर हो कि उसका हात थर्थरी कामे ! उसले जनताका अगाडि आफूले बहुमत पाउने गरी चाहिने जति उम्मेदव्रारका कटौरा नै थाप्ने आँट नगर्ने निधो जस्तै भयो । एमालेले पाँच वर्ष अघि लगिदिएको उसको सातो अझै सञ्चो भएको रहेनछ ।

एउटै दललाई बहुमत दिनु पर्छ र देश खास देश जस्तो हुन्छ भन्ने ठानेका नेपाली जनताले बहुमत दिने गरी उमेदवार उठाउने नेकपा एमाले बाहेक अर्को पार्टी नै नदेखैपछि त जनताले एमालेलाई बाहेक अरूलाई बहुमत दिने त विकल्पै रहेन । उता आफूलाई लोकतन्त्रको खाँटी सिक्का ठान्ने काङ्ग्रेस लोकतन्त्रका ठिमाहा, खोटा र नचल्ने सिक्का कन्तुरमा मिसाएर गठबन्धनका नाममा चुनावमा जाँदै छ । यसले केको चुनाव जित्नु बरै ! लौ, फेरि यस्तै अर्काको हाँडीबाट उछिट्ट्एका ठेट्ना बटुलेर सङ्ख्या सिटको गणित पुर्याएछ भनेपनि सरकार बनाउन कसको पाउमा लम्पसार पर्छ र कस्तो सरकार चलाउँछ भन्ने कुरा त देखिएकै छ ।

दिल्लीमा गएर ङिच्च गरेको, एमसिसिमा आफैले पिच्च थुकेको, हत्तेरी भन्दै त्यै थुक ल्याप्प चाटेको, अनि सिसिटिभी मुसोले बजेटका महँगा लुगा कुत्रुकुत्रु काटेको, बिहेको जग्गेमै वधूपक्षले कन्यादान गर्दा हाताहाती वरपक्षले नागरिकता प्रमाणपत्र दान गर्ने व्यवस्था मिलाएको, महँगीको चुली खडा गरेको जस्ता अनेकौँ चमत्कारी छलाङ्का विभिन्न जात्रा जनताले देखेकै छन् । त्यसैले यस्तो नान्जाती सरकार मुलुकमा आओस् भनेर जनताले चाहने त कुरै छैन, यसलाई कहिले विदा गर्ने होला भनेर व्रत बसेका छन् र त्यसको साङ्गे मसिर ४ गते गर्ने सुरमा पनि छन् ।

नेकपा एमालेका लागि अहिले बहुमत प्राप्त गर्ने चुनौतीपूर्ण अवसर छ । विगतमा एकपल्ट सूर्यमा झ्यापझ्याप छाप लगाएर बहुमत दिएर जिताएर पठाएका हेवीवेट नेतामध्ये केही हरामी बनेर आफ्नै सरकार गिराएर उता गएको, केही चाहिँ पेन्डुलमझैँ लामो समयसम्म यता न उता गरेर “दशा” देखाएको पनि जनताले देखैकै छन् । त्यसै कारणले सातो गएका जनता अझै पनि बेलाबेला खङ्ग्रङ्ग खङ्ग्रङ्ग गर्न छाडेका छैनन् । अहिले भोट दिएर फठायो, फेरि पनि आफ्नै सरकार गिराउने खेल खेलिन्न भन्ने के ग्यारेन्टी ? जनताले यो विश्वाससहितको ग्यारेन्टी चाहेका छन् ।

तर यति हुँदाहुँदै पनि नेकपा एमाले एउटै पार्टी भएर चुनावमा गयो भने यसपल्ट एमालेलाई बहुमत दिने नेपाली जनताको तीव्र मुड छ, अथवा यसो भनौ जनताले यो एक ढिक्का छ भनेर पत्याए भने एमालेको विजयलाई कसैले रोक्न सक्तैन । त्यसका लागि अहिले चुनावमा टिकट वितरणमा एमालेले निकै कठोर निर्णय गर्नु जरूरी छ । अब म धेरै कुरा नगरी यसपल्ट कसरी र केमा ध्यान दिएमा नेकपा एमालेले बहुमत ल्याउला त भन्ने प्रश्नततर्फ केन्द्रित हुँदै म केही कुरा राख्न चाहन्छु ।

पहिलो कुरो, नेकपा एमालेले चुनाव जित्यो भने संसद् विघटन गर्छ, “संसद विघटन प्रतिगमन हो” भन्ने यिनीहरूले स्थापित गरेको गलत भाष्यका जरा उखेल्नुपर्छ । निमुखा जनताका रगतले लत्पतिएको क्रूर उद्दण्ड व्यक्तिका हातमा करिबकरिब दुईतिहाइ सिट जानबाट रोक्न केपी ओलीले संसद विघटन गरेर मुलुकलाई ठुलो गुन लगाएका हुन् । केपी ओलीलाई सफाया गरेर मुलुकमा दुई तिहाइका बलमा संविधान संशोधन मार्फत् ल्याउन लागिएको “दाहालवाद” नामको नयाँ संस्करणको जहानियाँ शासन रोक्ने काम केपी ओलीले जुन गरे त्यसले नै मुलुक बँचेको हो ! भन्ने मेरो ठम्याइ छ । केपी ओलीको त्यो बेलाको संसद विघटन जनताका आदेश विपरीत सदन कब्जा गरी वितण्डा मच्चाउने र सम्भावित घातक निरङ्कुशता रोक्ने साहसिक कदम थियो भन्ने कुरो जनतामाझ लानु जरुरी छ । किनकि संसद् विघटन देश दुर्घटना जोगाउने “न भूतो न भविष्यति” घटना हो, र अब कहिल्यै त्यस्तो हुँदैन पनि ।

दोस्रो कुरो, नेकपा एमालेले समानुपातिकतर्फका उमेदवार छान्दा नेताका नाता र परिवारबाट यो एकपल्टका लागि कही कोही पनि समावेश नगरे जनताले जाद्रै जाती मान्थे । यसको साटो बरु पार्टीका केही हेवीवेट नेताहरूलाई यसपल्ट समानुपातिकमा समावेश गर्दा उपयुक्त हुन्थ्यो होला ! त्यसो भयो भने तत् तत् स्थानका कार्यकर्तामा स्थायी गुट निर्माणको खतरा नहुने, गुट निर्माण गर्ने प्रवृति रोकिने र मुलुकभरि निर्वाचनको माहौल ल्याउन सकिने सम्भावना पनि छ । नत्र “फलानाको पुत्रीवाद र ढिस्कानाको पत्नीवादमा फरक छुट्याऊ” भनेर सोधियो भने जनताले कसरी फरक छुट्याउँछन् ?

जनताले सादा र सफा ठानेकाबालेन, हर्क, र सुनिता शैलीका मान्छे जस्तापार्टीलाई कहिल्यै धोका नदिने मान्छे, एमालेभित्र पार्टीका लागि जीवन समर्पण गरेका मान्छे र जनसेवामा इस्पात भएर लागेका मान्छे कति होलान् कति ! कहीँ कतै सीमान्तीकृत भएर बसेका यस्ता होनहार कार्यकर्ता सर्च गरौँ, छानौँ र तिनै मध्येबाट प्रत्यक्षतर्फ नयाँ र युवालाई अगाडि बढाऔँ । किनकि अब उमेदवारमा य क्षेत्र मेरो हो भन्ने जमिनदारी र मोहियानी प्रथाको अन्त्य जरूरी छ । प्रतिबद्ध, राम्रो र जनअडिट भएकालाई र सकभर नयाँलाई मौका दिनेतिर एमालेको ध्यान जानु जरूरी छ ।

तेस्रो र दुवै भन्दा चुरो कुरो पार्टीभित्र देखिएको गुठी प्रथाको अन्त्य जरुरी छ । माधव नेपालको समूहले निर्माण गरेको गुट सकिएपछि एमालेमा गुटका विभिन्न गुठी र धामहरू परमधाम हुन्छन् र पार्टी एक ढिक्का हुन्छ भन्ने जुन सोच थियो, स्थनीय निर्वाचनमा आफ्नै उमेदवार हराउन निर्वस्त्र भएर नाच्ने, अनि त्यै मान्छे पार्टीको ठुलो नेता भै रहने, निकै त्यागी र खाँटी कार्यकर्ता पनि भै रहने, सार्वजनिक मञ्चमा एमालेले जित्छ भनेर खोक्ने, गुट वा गुठीभित्र भित्रभित्रै एमालेले जितेछ भनी कान काटेर फालिदिन्छु बनेर बाजी ठोक्ने झारहरू धेरै उम्रेका रहेछन् भन्ने पनि देखियो ।तिनलाई गोडमेल कसरी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने मनन गर्नु जरुरी छ । पार्टीले उठाएकाहोनहार उमेदवारका बिरुवा मार्ने बनमारा झार जो जो बनेका छौँ वा जजसले त्यसलाई मलजल गरेका छौँ, आआफ्नो नाम सम्झेर ममः भनौँ, त्यो अन्तर्घाती गनाउने अनुहार आआफै सफा गरौँ ।

यसरी एमालेमा कार्यकर्ताको तहसम्म सल्केको गुटको गिर्खो निको हुनु जरुरी छ र मैले टिकट पाए जित्छु र अरूले पाए हराउँछु भनेर अहिले पनि कोही सुर कसेर बसेको छ भने एमालेको सबैबन्दा ठूलो शत्रु त्यो बाहेक अर्को होइन भनी बुझे भयो । टिकट पाउने बेलासम्म कुँदाकुँद ठिकै हो, तर टिकट जसले पाए पनि त्यो उमेदवार म नै हो भन्ने भाव यो पल्ट कार्यकर्ता र नेतामा आउनु पर्यो ।जनताले आश र विश्वास गरेको नेकपा एमाले पार्टीलाई “गाउँफर्के शैलीमा”पार्टीको उमेदवार बनाउँदैमा सूर्य चिह्नमात्र हेरेर भोट हाल्छन् भनेर भन्ने भाष्यमा संशोधन हुनु जरूरी छ भन्नेबारे नेतृत्वले पनि सोच्नु जरुरी छ ।

अब पनि नेपाली जनताको भरोसा नेकपा एमाले मथि नै छ, अझै केपी ओलीको नेतृत्व माथि नै छ । ओलीभित्र युवा सोच छ र पारिवारिक लोभ छैन, ओलीबारेको जनअडिटले पनि यही नै भन्छ । उहाँको इस्पाती राष्ट्रवादी अडान छ, केपी ओलीमा जुन भिजन र सोच छ त्यसलाई पूरा हुन नदिएको र नेकपा कालमा दिनुसम्म सास्ती दिएर सचिवालय बहुमतका नाममा हात खुट्टा बाँधेर अनेक बखेडा झिकेको तथ्य दुनियाले बुझेको छ र एकपल्ट देशको निर्भीक नेताले एक कार्यकाल देशको अकण्टक नेतृत्व गरेको हेर्ने जनताको तिर्खा यथावत् छ

जनताको नजरमा चोखो हुन नसकेका, आफ्नो क्षेत्रमा विकासको मुसो मार्न नसकेका, तर पार्टीका “यतिओटा भोटा फटालेँ” भनेकै आधारमा र सूर्य चिह्नको लोकप्रियताका आडमा अलोकप्रिय व्यक्तिले चुनाव जित्छ भनेर सोच्नु बेकार छ । सकभर उमेदवार चाहिँ पुरानो भन्दा नयाँ चहिँदो रहेछ र पुरानोभए पनि अर्गानिक र नातागोता नपोसेको र कमाउधन्दामा बात नलागेको उमेदवारलाई जनता भोटहाल्न भोकाएका छन् भन्ने कुरो स्थानीय निर्वाचनका केही झट्काले पनि सङ्केत गरेकै छन् ।

अब पनि नेपाली जनताको भरोसा नेकपा एमाले मथि नै छ, अझै केपी ओलीको नेतृत्व माथि नै छ । ओलीभित्र युवा सोच छ र पारिवारिक लोभ छैन, ओलीबारेको जनअडिटले पनि यही नै भन्छ । उहाँको इस्पाती राष्ट्रवादी अडान छ, केपी ओलीमा जुन भिजन र सोच छ त्यसलाई पूरा हुन नदिएको र नेकपा कालमा दिनुसम्म सास्ती दिएर सचिवालय बहुमतका नाममा हात खुट्टा बाँधेर अनेक बखेडा झिकेको तथ्य दुनियाले बुझेको छ र एकपल्ट देशको निर्भीक नेताले एक कार्यकाल देशको अकण्टक नेतृत्व गरेको हेर्ने जनताको तिर्खा यथावत् छ ।

अन्त्यमा अरु पार्टीका कुकृत्यको भन्डाफोरले मात्र चुनावी खुराक नपुग्ने हुँदा आफ्ना आक्रामक एजेन्डा पनि पस्किने र अझै पनि एमाले हुँ भन्नेहरू लोभलालच नगरी एकपल्ट प्रतिरोधी चेतनाका साथ चुनावमा उत्रने अनि उल्लिखित जनचाहना अनुसारका कार्यतर्फ नेतृत्वको दृष्टि पुगेमा जनता एमालेलाई बहुमत दिने मुडमा तम्तयार देखिएका छन्, है । अहिलेलाई यत्ति !