जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार २१:१८

जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण


लमजुङ, २८ साउन । जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण गरिएको छ । कार्यालयले स्थानीय तह र विभिन्न व्यक्तिहरूको सहयोगमा बौद्ध चैत्य निर्माण गरेको हो । प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार शान्तिको कामना गर्दै चैत्य निर्माण गरिएको हो । लमजुङमा गुरुङहरूको बाहुल्यता रहेको र उनीहरू बौद्ध धर्मावलम्बी रहेकाले उनीहरूलाई मध्यनजर गरी बनाइएको हो ।

लमजुङ र विश्व शान्तिका लागि उक्त बौद्ध चैत्य निर्माण गरेको बताउनुभयो । चैत्यभित्र गौतम बुद्धको पाँच वटा पित्तलको मूर्ति राखिएको छ । उक्त चैत्य बनाउन क्व्होलासोंथर गाउँपालिकाले २ लाख रुपियाँ सहयोग गरेको छ ।

मर्स्याङ्दी गाउँपालिकाले १ लाख रुपियाँ सहयोग गरेको छ । डुम्रे–बेसीशहर–चामे सडक योजनाका प्रमुख, इन्जिनियर अच्युतविलास पन्तले ४ वटा पित्तलको मूर्ति सहयोग गर्नुभएको छ । बेंसीशहर नगरपालिका ७ का निवर्तमान अध्यक्ष गोविन्द बस्नेतले बालुवा र गिट्टी सहयोग गर्नुभएको छ । बेंसीशहर नगरपालिका ७ का अध्यक्ष ऋषिराम बस्नेतले बालुवा सहयोग गर्नुभएको थियो ।