जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार १६:४०

आत्मनिर्भर हजुरआमाहरू


महोत्तरी, २९ साउन । थपमाया लामा उमेरले ८५ वर्ष पुग्नुभयो । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त हुनुहुन्छ । उहाँसँगै उहाँको ७८ वर्षीय सम्धिनी तुलीमाया पाख्रिन पनि हुनुहुन्छ । तुलीमायाका छोरा गोविन्द पाख्रिनले थपमायाकी छोरी देवीमायासँग विवाह गर्नुभएको छ ।

बजार लाग्ने दिन उहाँहरू बिहानै घरबाट निस्कनुहुन्छ, लालबन्दीबाट धुप र मर्चा मगाउँनुहुन्छ अनि अटोमा राखेर उक्त सामान बजारसम्म पुर्याउँनुहुन्छ । हेर्दा निकै वृद्ध देखिने यी दुई सम्धिनीले व्यापार गर्न लागेको २० वर्ष भइसकेको छ । वृद्ध उमेरमा पनि आफ्नो पेसालाई निरन्तरता दिएर देशमै आयआर्जन गर्न सकिन्छ भन्ने उहाँहरु उदाहरणीय बन्नुभएको छ । ‘कहिलेकाहीँ बजार जाँदा होस् या कपडा किन्दा होस् छोरा र बुहारीसँग हात फैलाउन पर्दैन,’ तुलीमाया भन्नुहुन्छ ।

अझ थपमायाका तीन सन्तान छन् । जेठा छोरा वेदबहादुर अहिले परिवारसहित दोलाखाको चरिकोटमा बस्दै आएका छन् । कान्छा छोरा प्रिमान बर्दिबासमा नै बस्छन्, तर खासै काम गर्दैनन् । थपमायाको व्यापारबाट परिवारको भरणपोषणको आधार पनि बन्नुभएको छ । थपमायाको पुर्ख्यौली घर पनि चरिकोट नै हो । अनि तुलीमायाको दोलाखाकै जिरीमा ।

तुलीमायाको भने थपमायाको भन्दा अलि फरक कथा छ । उहाँको छोराछोरीको नाममा एकैजना छोरा हुन् । पहिले छोरा पर्यटकहरूको भरिया काम गर्थे । तर, अहिले पहिले जस्तो अवस्था छैन । हिमाल जाने पर्यटकहरू सवारी यातायातको प्रयोग गर्न थाले फलस्वरूप कयौँ जना बेरोजगार बनेका छन् । यही सूचीमा तुलीमायाका छोरा पनि परे ।

काम नभए पनि तुलीमायालाई कुनै चिन्ता छैन । उहाँ भन्नुहुन्छ, ‘मैले कमाएको पैसाले नै घरपरिवारमा सहयोग पुग्छ, त्यही भएर छोराले काम पाउँदा गरिहाल्छ, नपाउँदा म आफै कमाउँछु ।’ थपमाया र तुलीमायाको घर अहिले बर्दिबासमा नै छ । सवारीसाधनको सहयोगले उहाँहरू बजारसम्म आउँनुहुन्छ अनि बेलुका आफै फर्कनुुहुन्छ ।

‘अहिले नातिनातिनीले अब व्यापार गर्नुपर्दैन भन्छन् । तर, दिनभरि के गरेर बस्नु र भनेर यता आउँछौ, बेच्छौ,’ थपमाया र तुलीमाया एकसाथ भन्नुहुन्छ । बुढेशकालमा पनि आत्मनिर्भर बन्न सकेको उहाँहरुलाई खुसी लागेको बताउँनुहुन्छ । उनीहरुले बजार लागेको दिन दैनिक पाँच सयसम्मको व्यापार गर्नुहुन्छ ।

वर्षौँदेखि वर्दिबासमा बस्दै आए पनि तुलीमाया र थपमायाले बसाइँसराइ दर्ता गराउनुभएको छैन । जसका कारण थपमायाले वृद्धभत्ता दोलाखाबाट बुझ्ने गर्नुभएको छ भने ७५ वर्षीया तुलीमाया नागरिकताको कारणले वृद्धभत्ता बुझ्न पाउनुभएको छैन ।