जनता टाइम्स

३१ श्रावण २०७९, मंगलवार १९:३१

गठबन्धन सरकारको नीति : इन्धनको मूल्य बढेर आए बढाउने, घटदा भने नघटाउने


काठमाडौं, साउन ३१ । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदासमेत निगमले पाँच दलीय गठबन्धनको नितिअनुसार मूल्य नघटाउने निर्णय गरेको हो ।

भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको बताएको छ । निगमले पत्रकार सम्मेलन नै गरेर भारतबाट मूल्य घटेर आए पनि नघटाउने उर्दी जारी गरेको हो ।

‘हामीलामई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भन्नुभयो । थानीले अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे सोच्ने भन्दै जनताप्रति आफूहरु जिम्मेवार बन्न नसकिने प्रष्टै संकेत दिनुभयो । थानीको यो भनाईले पाँच दलीय गठबन्धन सरकार मूल्य बढे बढाउने, घटे नघटाउने नीति उजागर गरेको छ ।

नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको उहाँको जिकिर थियो । मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले जानकारी दिनुभयो ।