जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १८:४२

प्रहरीको सम्पूर्ण ध्यान निर्वाचनमा : प्रहरी महानिरीक्षक सिंह


सप्तरी, १ भदौ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताउनुभएको छ । राजविराजमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सफलतापूर्वक स्थानीय निर्वाचन सम्पन्न गरिसकेपछि प्रहरीको ध्यान आगामी निर्वाचन विश्वसनीय, भयरहित गराउनेतर्फ केन्द्रित रहेको बताउनुभयो ।

आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष, भयरहित तवरमा नागरिकको मताधिकारको प्रयोग गर्न दिने वातावरणा बनाउनु नै समस्त प्रहरीको एकमात्र उद्देश्य रहेको प्रहरी महानिरीक्षक सिंहले बताउनुभयो । उहाँले नागरिक समाज, सञ्चारकर्मीलाई समाजका विषयवस्तु प्रहरीभन्दा बढी जानकारी हुने भएकाले सहयोगको अपेक्षासमेत गर्नुभयो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिबाट पदीय आचारणविपरीत भएका कार्य, समाजमा भइरहेका विकृति, विसङ्गतिलाई पत्रकारले उजागर गर्ने मात्र नभई सुधार गर्ने, सच्याउने ढङ्गले पथप्रदर्शक बन्न पनि उहाँले आग्रह गर्नुभयो । सबै क्षेत्रका कुरीतिलाई न्यूनीकरण गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।

अन्य प्रदेशको तुलनामा तस्करी, कालाबजारी, महिला हिंसाका घटना बढी रहेकाले प्रहरीलाई पत्रकार र नागरिक समाजको साथ सहयोग चाहिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्ना प्रहरी तस्करीमा संलग्न नभएको बताउनुभयो । गलत बाटोमा प्रहरी संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गर्दै उहाँले कसूरअनुसार विभागीय कारबाही गरेर जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।