जनता टाइम्स

३ भाद्र २०७९, शुक्रबार १४:२५

आज ‘लन्डन पव’ मा गुञ्जिँदै अनिल सिंह


काठमाडौं, ३ भदौ । गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उहाँको नाम चर्चामा रहन्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उहाँले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उहाँले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीतप्रेमी दर्शक नै छैनन् भन्दा पनि फरक पर्दैन। किनकि उहाँको गायन शैली र गीत नै त्यस्तै छ ।

संगीत प्रेमीमार्फत रकस्टारको ट्याग पाउनुभएको अनिलको गीतमा रम्ने युवापुस्ता धेरै छन् । आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । उहाँ नै अनिलले पछिल्लो समय सार्वजनिक गरेको गीत ‘रेलिमोई’ चर्चामा छ । केही समयको तयारीपश्चात् गीतसंगीतमा फर्किँदै हुनुहुन्छ उहाँ ।

अनिलले छिटै सार्वजनिक गर्ने गरी अहिले गीतको काम गरिरहनुभएको छ । ‘रेलिमोई’ बोलको गीतमा अनिलको स्वर मात्र छैन, उहाँको फिचर्ड पनिछ । अनिलले आज काठमाडौंस्थित ‘लन्डन पव’ मा कन्सर्ट गर्ने कार्यक्रम रहेको छ । उहाँले म्युजिकल क्लब टुरअन्तर्गत कन्सर्ट गर्न लाग्नुभएको हो । उहाँले यसपटक ब्यान्डसँगै कन्सर्ट गर्दै हुनुहुन्छ ।

उहाँको ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल नै हुनुहुन्छ भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ, ड्रमरमा प्रज्वल निर्वाण हुनुहुन्छ । बेलुकी ८ बजेबाट सुरु हुने कन्सर्टमा अनिलले आफ्नो हिट गीतहरु प्रस्तुत गर्नुहुनेछ । उहाँको आई लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट छन् ।

‘योजनाअनुसार नै काम अगाडि बढाइरहेको छु । क्लबहरूमा म्युजिकल टुरपश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ,’ अनिलले भन्नुभयो । केही समय कन्सर्टमा मात्र केन्द्रीत अनिलले पछिल्लो समय गीतसंगीत सिर्जनामा पनि समय दिइरहनुभएको छ । ‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर, ट्रेन्ड बुझेर आउनुपर्छ,’ अनिलले भन्नुभयो ।

आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उहाँले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाउनुभएको छ । ‘म युट्युबको लागि नयाँ छु । किनकि यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउँदैछु,’ उहाँले थप्नुभयो । साथै, उहाँले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आई लभ यु २ गीत छिटै दर्शकसमक्ष ल्याउँदै हुनुहुन्छ ।

उहाँले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दै हुनुहुन्छ । यसपटक उहाँले आफ्नै हिट एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लाग्नुभएको हो । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजनाअनुसार नै अगाडि आउने छन्,’ अनिलले भन्नुभयो ।