जनता टाइम्स

४ भाद्र २०७९, शनिबार ११:४८

लौरो ब्याटल : हर्कको ओरालो यात्रा, के पिएर गर्छन् यस्तो ‘अपाच्य’ टिप्पणी ?


काठमाडौं, ४ भदौ । एउटा सार्वजनिक पद धारणा गरेको ब्यक्तिका आफ्नै सीमा हुन्छन्। उसले साधारण ब्यक्तिको जस्तो जीवन खोजेर हुँदैन। उसका आचरण, बानी, ब्यहोरा, रहनसहन, चाल चलन, बाणी सबै अनुकरणीय हुनपर्दछ, नकि समाज बिगार्ने। नेपालमा यस्ता धेरै सार्वजनिक पद धारण गरेका मानिस छन् जसले आफूलाई ती सारा कुरामा बदनाम गरेका छन्। त्यसमा नेपालका मन्त्री, सांसद, नेता, जनप्रतिनिधि सबै अटाउँछन्। आफ्नो संवेग र आवेगलाई नियन्त्रण गर्न नसक्दा कतिपय ठुलै पद धारण गरेका मानिस पत्तासाफ भएका छन्। पछिल्लो समय यही दिसामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ देखिन्छन् भन्दा आपत्तिजनक नहोला,

यसो हुनुको प्रमुख कारण उनमा भएको अहमता, हल्का अभिब्यक्ति र घमण्डीपना हो। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उहाँले भारी मतान्तरका साथ मेयर पदमा विजयी हुनुभयो। मेयर भएको हनिमुन समय पनि सक्किएको छ। यो बीचमा उहाँले धेरै राम्रा कामहरु गर्नुभएको छ। ती कामको प्रसंसा नै गरौँ। तर उहाँ प्रसंसासंगै बदनाम पात्रको रुपमा पनि देखिन थाल्नुभएको छ। त्यसको कारण हो उहाँको फेसबुक लाइभ, अपाच्य शब्द, अभिब्यक्ति, अराजकता र अहमता। मेयर साम्पाङले शुक्रबार विहान करिब ८ मिनेट फेसबुकमा लाइभ भिडिओ पोष्ट गर्नुभयो । यो पुरा भिडिओ हेर्दा सारांसमा काठमाण्डौँका मेयर बोलेन्द्र शाह र काठमाण्डौँको फोहरमा केन्द्रित देखिन्छ । धेरै कुरा गर्ने क्रममा उहाँले आफूलाई सम्हाल्न सकेको देखिँदैन। अपाच्य शब्द बोल्नुभएको छ । गर्दागर्दै उहाँले पहाँलोपहेँलो देखिने पेय पदार्थको चुस्की तानेको पनि भिडिओमा देखिन्छ। यसपछि उनको चौतर्फी आलोचना सुरु भएको छ। अन्तिमतिर उहाँले भनेको अभिब्यक्ति जस्ताको तस्तै ‘विशेष गरी यो मेरो लाइभ विरोधीहरुलाई। हनै मेरो विरोध गरेर के ……… मेरो विरोधले तपाइलाई निकै पोले रहेछ।

तपाईँको विरोधले के ………. र म मेरो लाइनमा हिँड्ने मान्छे (पिउँदै) जुनदिनसम्म काठमाण्डौँको फोहर ब्यवस्थापन हुँदैन धरानले मात्र होइन चारैतिरबाट प्रहार गर्नुहोस् त्यहाँ काम न काजका।’ उहाँले सेवन गरेको केहो ? सामाजिक संजालमा भने उनी मदिराको मदहोसमा डुवेको भनेर प्रतिक्रिया आइरहेका छन्।

सामाजिक संजालमा निकै सक्रिय भीम उपाध्यायले ‘दारूको नसामा‘ बोल्दै भनेर’ हर्कको त्यही भिडिओको क्लिव शेयर गर्नूभएको छ। उहाँको यो पोष्टमा धेरैले हर्कको आलोचना गरेको देखिन्छ। सामाजिक संजालमा दिनेश पराजुली लेख्नुहुन्छ ‘हर्क काठमाडौ गएको दिन देखि नै काठमाडौ र धरान तुलना गर्दै लेख्नु भोलिपल्टै प्रचण्ड र जनार्दन शर्मालाई भेट्नु। बेलुका प्रचण्ड माथि बालेनले कडा रुपमा नैतिक प्रश्न गर्नु। हर्क धरान फर्किएर झन उग्र बन्दै जानु यो सब संयोग मात्र हो या स्वतन्त्र भनिनेको मुखुण्डो उत्रिएको ? के उपमहानगरपालिकाको मेयर जस्तो मान्छेले यस्तो अभिब्यक्ति दिन र सामाजिक संजालमा सबैलाई देखाउँदै सेवन गर्न मिल्छ ? समाज सुधारको सन्देश दिने मान्छेले नै यस्तो फोहरी शब्द र सार्वजनिक रुपमा सेवन गरेपछि के सन्देश जाला ? आम मानिसमा सिर्जना हुने प्रश्न हो। यो भिडिओपछि धेरैले हर्क थप अराजक र उदण्ड मेयर बन्दै गएको बताएका छन् ।

उनको नीजि जिवनमा यो सारा चल्ला तर देशभरकै जनप्रतिनिधिको मान हानी हुने गरी जुन कुकृत्य सामाजिक संजालबाट प्रदर्शन गरेका छन् यो सभ्य समाजको लागि ग्राह्य हुँदै होइन भनेर बुद्धिजिवीले भन्न थालेका छन् । हर्कले १० बर्षसम्म धरानका सामाजिक मुद्धा उठाए। आफ्नो जस्तो स्वभाव छ त्यही अनुसार आफूलाई ढाले तर अब त्यही अभिब्यक्ति शैली र तुच्छ ब्यवहारले चल्दैन। अब उहाँ हर्क साम्पाङ मात्रै हैन अब उहाँ धरान उपमहानगरपालिकाका मेयर हुनुहुन्छ ।

हिँजोको उदण्ड र उग्र शैली र बोली वचन अब यो पदमा ग्रहणयोग्य पटक्कै हुन सक्दैन बुद्धिजिविहरु भन्छन्। कतिपय टिप्पणीकारहरुले हर्कले राम्रो काम गरे पनि अन्तिममा ब्यक्तिगत अहमताकै कारण कहिल्यै उठ्न नसक्ने गरी पछारिन सक्ने अनुमान गर्दछन् हिजो जति हाइहाइ र वाहवाही बटुलेका हर्कले यो भिडिओपछि निकै आलोचना खेपिनुभएको छ । ५ दिन अघि काठमाडौं आएर हर्क फर्किनुभएका उहाँले काठमाडौं आएको वरिपरिमै उहाँले लेखेका २ स्टाटसले सामाजिक संजाल तात्यो।

साउन ३० गते फेसबुकमा उहाँले लेख्नुभएको थियो ‘काठमाडौंको फोहोर व्यवस्थापनमा सख्ती (शक्ति)का साथ प्रस्तुत हुनुपर्छ, गुलेलीले हान्यो त्यसैले सकिएन भन्ने बहनाको कुनै तुक छैन, फोहोरी राजनीतिले फोहोरकै राजनीति गरेर झन् फोहोरी भो,’ साम्पाङले बुधबार बेलुका फेरि लेखे ‘जसले जे भनोस्। तर, म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ, कम्से कम काम त सुरु गरे,’ मेयर साम्पाङको यो स्टाटस काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित थियो।

त्यसपछि लौरो ब्याटल सुरु भयो। हर्कको यो शैली पटक्कै मन नपारएका काठमाडौंका मेयर बालेन्द्र शाहले पनि ब्यङ्ग्यवाण दिए हर्क जी, काठमाडौंको फोहोर मात्रै तपाईले गर्दा उठेको होइन, मैले चुनावसमेत तपाईले नै गर्दा नै जितेको हुँ। तपाईकै कृयाले यहाँसम्म आएको हुँ। यो विषयले संसद पनि प्रवेश पायो। यही लौरो ब्याटलपछि चौतर्फी प्रसंसा पाएको हर्कको तीव्र आलोचना भयो। मेयर बालेनका समर्थक हर्कविरुद्ध मौरीको गोलो झैँ खनिन थाले पनि बुद्धिजिवीले पनि हर्कको यो शैली र मपाईँत्वको पनि आलोचना गरे। त्यसपछि भने हर्क झन् उदण्ड बन्दै गइरहेको पाइन्छ। शुक्रबारको त्यो फेसबुक लाइभ पनि त्यही ब्याटलस्वरुप आएको बुझ्न सकिन्छ। जतिजति हर्कको आलोचना भइरहेको छ त्यतित्यति उहाँले आफ्नो आवेग, रिस र आक्रोसलाई नियन्त्रण गर्न नसकिरहेको देख्न सकिन्छ ।

उहाँ गलत कुरामा माफी या क्षमायाचना नगरेर उल्टै र्याप गाएर आएकोसंग मेरो तुलना हुन सक्दैन। म १० बर्ष सामाजिक अभियान्ता बनेर यहाँसम्म आएको हुँ भनेर टिप्पणी दिइरहेका छन् । जुन निकट भविष्यमा उहाँकै लागि प्रत्युत्पादक हुन सक्छ। जे भए पनि बालेन र हर्कको उपस्थितिले आम जनतामा एउटा उत्साह थपेको जरुर हो। मंसिर चार गतेको निर्वाचन निकट भइरहँदा स्वतन्त्र उम्मेदवारप्रति आम नागरिकले सकारात्मक धारणा पनि राखे। त्यही परिणामस्वरुप अहिले देशैभर स्वतन्त्र उम्मेदवारीको लहर चलेको देखिन्छ। तर, हर्क र बालेनका यसखाले प्रवृत्तिले भने फेरि जनतालाई निरास बनाउन थालेको छ। नागरिकलाई स्वतन्त्रप्रति नकारात्मक हुन बाध्य बनाएको सजिलै बुझ्न सकिन्छ।