जनता टाइम्स

४ भाद्र २०७९, शनिबार १८:४८

लियोपार्ड फिजियोको तयारी सुरु


काठमाडौं, ४ भदौ । विश्व फिजियोथेरापी दिवसको अवसरमा हुन लागेको फिजियोथेरापिस्टहरूको फुटसल प्रतियोगिताको लागि लियोपार्ड फिजियोले तयारी सुरु गरेको छ । क्लबले शनिबार एक कार्यक्रममार्फत टिमको जर्सी, स्पोन्सर र खेलाडी सार्वजनिक गरेको हो । क्लब मालिकमा सुरज भुसाल र समिद कातिला श्रेष्ठ छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान बिराज महर्जन र विशिष्ट अतिथिमा नियो हेल्थ क्लिनिकका सूर्य कुवरको उपस्थिति थियो । प्रतियोगिताको लागि लियोपार्डलाई १८ वटा प्रायोजकले सहयोग गरेको छ । कार्यक्रममा बोल्दै पूर्व कप्तान बिराज महर्जनले यस्ता प्रतियोगिताहरूबाट फिजियोहरूले खेलाडीको मनोभाव बुझ्न सहयोग पुग्ने बताउनुभयो ।

‘खेलाडीहरूका स्वास्थ्यका लागि महत्त्वपूर्ण सहयोगीको रूपमा मैदानमा बस्नुहुने फिजियोथेरापिस्टहरूको यस्ता प्रतियोगिताबाट खेलाडीहरूको मनोभावलाई अझ गहिरिएर बुझ्न सहयोग पुग्नेमा म विश्वस्त छु । प्रतियोगिताको लागि लियोपार्ड फिजियोलाई शुभकामना दिन चाहन्छु,’ बिराजले भन्नुभयो ।

यस्तै, क्लबका मालिक भुसालले प्रतियोगिताको उपाधि जिते शतप्रतिशत रकम खेलाडीहरूलाई दिने र एक गोल बराबर पाँच सय रुपैयाँ प्रदान गरिने बताउनुभयो । ‘हरेक खेलमा खेलाडीसँगै रहने फिजियोहरूलाई पनि मनोरञ्जन दिने हाम्रो उद्देश्य हो । हामीले प्रतियोगिताको उपाधि जितेको खण्डमा प्राप्त नगद सबै खेलाडीलाई दिनेछौँ । र, प्रतियोगितामा प्रत्येक गोलबापत पाँच सय रुपैयाँ दिने निर्णय गरेका छौं,’ भुसालले भन्नुभयो ।

भदौ २३ गते फिजियोथेरापी दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघ ९नेस्ट० आयोजना हुने प्रतियोगितामा काठमाडौंका ६ र दुई मोफसलका गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसँगै ट्रफी र मेडल पुरस्कार पाउनेछन् । लिग कम नकआउट पद्धतिमा चल्ने प्रतियोगिताको सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।