जनता टाइम्स

७ भाद्र २०७९, मंगलवार १५:११

फोहोर व्यवस्थापनमा सहजीकरण गर्न काठमाडौं, नुवाकोट र धादिङका सांसद सहभागी अनुगमन समिति गठन गर्ने निर्णय


काठमाडौं, ७ भदौ । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहजीकरण गर्नेगरी सहजीकरण तथा अनुमगन समिति बनाउने निर्णय भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू समेत सम्मिलित रहने छन् ।

समिति गठनबारे जानकारी दिँदै कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल फेसबुकमा अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको बताउनुभएको छ । उहाँले फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको पनि जानकारी दिनुभयो ।

यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न उहाँले आग्रह पनि गर्नुभएको छ । समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तीनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्नेछ ।