जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार २१:५१

बीस जिल्लामा भारी बर्षा र बाढीको संभावना : उच्च सतर्कतामा अपनाउन अपिल


काठमाडौं, साउन १० । जल तथा मौसम पूर्वानुमान महाशाखाले इलामदेखि डलेलधुरासम्मका बीस जिल्लामा शनिवारसम्म बाढीको खतरा रहेको भन्दैउच्च सतर्कता अपनाउन अपिल गरेको छ । महाशाखाका अनुसार पहाडी तथा तराई भेगका केही स्थानमा शुक्रबार राति भारी वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिन भारी वर्षा हुने र मुख्य नदीहरुमा बहाव बढेर धनजनको क्षति हुनसक्ने भन्दै महाशाखाले सतर्क रहन स्थानीयलाई आग्रहसमेत गरेको छ। यस्तै शनिबारसम्म ईलाम, झापा, मोरङ, धनकुटा, दोलखा, रामेछाप, सिन्धुली, स्याङ्जा, कास्की, लमजुङ, गोरखा, कैलाली, कञ्चनपुर, दाङ, सुर्खेत, डडेलधुरा र आसपासका केही साना खोलामा आकस्मिक बहावको सम्भावना रहेको भन्दै महाशाले तटीय क्षेत्रमा सतर्क रहन भनेको छ। संभावित खतराबाट बच्न महाशाखाले अपिल गरेको हो ।

यस वर्षको मनसुनपछिको विपद्का कारण मुलुकभर १ सय ११ जनाले ज्यान गुमाइसकेका छन्। केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्‌मा ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन्।

यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन्। पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन्। अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ।

बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन्। अहिलेसम्म बाढीबाट एक अर्ब रुपैयाभन्दा बढीको क्षति भएको छ। यस्तै पहिरोबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित छन। सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन्।