जनता टाइम्स

११ भाद्र २०७९, शनिबार १४:३५

मुगुका किसानलाई बेलै नभइ स्याउ टिप्ने चटारो


मुगु, ११ भदौ । छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उहाँको परिवार बिहानैदेिख बगैँचामै हुने गरेको छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् ।

उनीहरू मात्र होइन यतिबेला मुगुका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । हुनत यो समय स्याउ टिप्नको लागि उपयुक्त समय होइन । मुगुमा स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजतिर मात्रै हो । भदौ अन्तिमतिर सबैले एकै पटक स्याउ टिपे स्याउले बजार नपाउने हुन्छ ।

कतिपय त रूखमै कुहिने भएकाले अहिलेनै धमाधम टिपेर बगैँचा खाली गर्न थालेको किसानहरू बताउँछन् । केही किसान भने स्याउ भण्डारण गर्ने ठाउँ नभएको बताउँदै व्पायारी बगैँचामा आएको मौकामा स्याउ बेच्न लागेको बताउँछन् । किसान हरि बहादुर भामले भन्नुभयो, ‘व्यापारी अहिले नै आएका छन् अलिअलि काँचो भए पनि लैजान्छन् ।’ यतिबेला स्याउ व्यापारी बगैँचामा आएर प्रतिकेजी ३० रुपैयाँमा लिने गरेका किसानहरू बताउँछन् ।

आफूले पनि उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले बिक्री गर्ने गरेका स्याउ किसान सूर्य प्रकाश भामले बताउनुभयो । उहाँका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ । बिस्नमाया रोकायाका बारीमा १५ सय स्याउका बोट छन् । यो वर्ष स्याउ उत्पादन धेरै हुने भएकाले उहाँलाई कसरी बेच्ने भन्ने चिन्ता लाग्न थालेको छ । उहाँले भन्नुभयो,‘नेपालगञ्ज, सुर्खेतलगायतका बजारमा लैजाने योजना छ ।’

स्याउ उत्पादन धेरै भए पनि मुगु जाने राम्रो सडक छैन । गत वर्षभन्दा यसपटक स्याउ उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालय मुगुले पिन गरेको छ । निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर शाहीले भन्न्ुभयो,‘अघिल्लो वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।’ यस वर्ष जिल्लामा गत वर्ष भन्दा ५ देखि १० प्रतिशत स्याउ उत्पादनमा वृद्धि हुने शाहीले बताउनुभयो । मुगुमा विशेष गरी तीन प्रकारका रोयल डेलिसेस्, रेट डेलिसेस्, र गोल्डेन डेलिसेस् स्याउ उत्पादन हुने गरेको छ ।