जनता टाइम्स

११ श्रावण २०७६, शनिबार ०८:०७

त्रिबि ‘टपर’ कोइराला र भट्टराईको ट्रान्सक्रिप्ट खारेज


काठमाडौं, साउन ११ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अंक थप गरिएका प्रमाणपत्र रद्द भएका छन् । त्रिबिले अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला र बानेश्वर क्याम्पसका केदार भट्टराईको प्रमाणपत्र रद्द गरेको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीले कानुनविपरीत अंक थप गरी ट्रान्सक्रिप्ट जारी गरेको प्रमाणित भएपछि कोइरालाको तीन र भट्टराईको एउटा ट्रान्सक्रिप्ट रद्द गरिएको जानकारी दिनुभयो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइराला र भट्टराईविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

कोइरालाले त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा त्रिचन्द्र बहुमुखी क्याम्पसमा समाजशास्त्र तथा पाटन संयुक्त क्याम्पसमा ग्रामीण विकास र अर्थशास्त्र विषयमा भर्ना भएर नम्बर थप गर्न लगाई ट्रान्सक्रिप्ट लिएका थिए । त्यसैगरी केदार भट्टराई पाटन संयुक्त क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत अर्थशास्त्र विषय अध्ययनका लागि भर्ना भएर नम्बर थप गर्न लगाई प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

कोइराला र भट्टराईले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी रामबहादुर कर्माचार्यलाई प्रलोभनमा पारी माक्र्स लेजरमा अंक थप गर्न लगाएका थिए । पनिकाले गठन गरेको छानबिन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनले अंक थप गरेको पुष्टि भएपछि त्रिविको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमअनुसार परीक्षा सञ्चालक समितिको बैठकले ट्रान्सक्रिप्ट रद्द गरेको हो ।

आजको नयाँपत्रिका दैनिकका अनुसार पनिकाबाट जारी भएको कोइरालाको इस्यु नम्बर ६४०१३६०३, ६४०५३९११, ६४०४८८१९ का तीन ट्रान्सक्रिप्ट र भट्टराईको इस्यु नम्बर ६४०४८८२० को ट्रान्सक्रिप्ट रद्द गरिएको हो । अख्तियारले तीनैजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, हाल उनीहरू धरौटीमा छुटेका छन् । गोल्ड मेडलिस्ट बन्ने रहरले कोइरालाले नम्बर थप्न लगाएका थिए । यसका लागि उनले एक लाख रुपैयाँ तिरेका थिए ।