काठमाडौं, १२ भदौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकले काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक धानुकबीच गत २५ साउनमा वार्षिक कार्यसम्पादन सम्झौता भएअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक धानुक र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवाली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरतबहादुर बोहरा, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीबीच हस्ताक्षर भएको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू अक्षरंस पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिँदै आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवं नियमित, अनुगमन र सुपरीवेक्षण गर्नसमेत आग्रह गर्नुभयो ।
अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धिमूलक हुने विश्वास धानुकले व्यक्त गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्