एजेन्सी, १९ भदौ । गाजियाबादको मधुवन बापुधाम पुलिस स्टेशन अन्तर्गत सञ्जय नगरमा पतिको अवैध सम्वन्धबाट आजित भएकी महिलाले आफ्नी नाबालिग छोरीसँग मिलेर पतिको निर्ममतापूर्वक हत्या गरेकी छन् ।
तर, केही घन्टामै प्रहरीले हत्याको यो मुद्धा हल गर्दै आरोपी श्रीमतीलाई पक्राउ गरेको छ । प्रहरीको सोधपुछका क्रममा आरोपी श्रीमती शालुले आफ्ना पति अमित वर्माको एक महिलासँग अवैध सम्बन्ध रहेको बताएकी छन् । यसैलाई लिएर उनीहरुबीच बारम्बार झगडा हुने गरेको थियो । अमितले आफ्नी प्रेमिकासँग आपत्तिजनक अवस्थामा श्रीमतीलाई भिडियो कल गर्ने गरेको बताइएको छ ।
टाउकोमा गह्रौ बस्तुले प्रहार गरी हत्या
जानकारीका अनुसार सञ्जय नगर सेक्टर–२३ स्थित एम–ब्लकका ४० वर्षीय जौहरी अमित वर्माको टाउकोमा भारी बस्तुले प्रहार गरिएको थियो । आइतबार बिहान अमितको शव आफ्नै कारमा फेला परेको थियो । कार भित्र र घटनास्थल वरपर रगतका चिन्हहरू फेला परेका थिए। प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार अमित वर्मा शनिबार राति सहारनपुर जाने भन्दै घरबाट निस्किएका थिए । मधुवन बापुधाम प्रहरी चौकी इलाकाको कमला नेहरुनगरमा आइतबार बिहान ४ बजे फ्यान्टम सवार प्रहरी गस्तीमा निस्किएका बेला एउटा वागनआर कार सडकमा पार्किङ गरेको अवस्थामा फेला परेको थियो । चेकजाँच गर्दा कार भित्र एक युवक मृत फेला परेका थिए जसको पहिचान अमित वर्माका रूपमा भएको थियो ।
प्रहरीका अनुसार अमित वर्माको टाउकोमा भारी बस्तुले प्रहार गरी हत्या गरिएको हो । कारमा रगतको दाग पनि भेटिएको छ । प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतकको अर्कै महिलासँग सम्बन्ध रहेको खुलेको छ ।
प्रहरीले मृतककी श्रीमतीसँग सोधपुछ गर्दा उनको भनाइमा विरोधाभास देखिएको थियो । कडा सोधपुछ गर्दा उनले आफ्नो अपराध स्वीकार गरिन् । पतिको अर्कै युवतीसँग अवैध सम्बन्धका कारण उनले हत्या गरेकी हुन् ।
घरमै श्रीमानको हत्या गरेपछि महिलाले लाशलाई कारमा राखेर बेवारिसे अवस्थामा छाडेर गएको बताइएको छ । हत्याको चिन्ह लुकाउन उनकी श्रीमती र छोरीले रगतले लतपतिएको गद्दा धोएर राती टेरेसमा सुकाएर घरको सिँढी पनि धोएका थिए ।













प्रतिक्रिया दिनुहोस्