जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १७:१९

शेखर कोइरालाको चेतावनी : कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ


काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गर्दा कांग्रेसले सय सिट नपाए पार्टीभित्रै बिद्रोह हुने चेतावनी दिनुभएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन लचकता देखाइरहनु भएको बेला कोइराला प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सय सिटभन्दा कममा सम्झौता गरेमा पार्टीभित्रै विद्रोह हुने चेतावनी दिनुभएको हो ।

सभापति देउवा शेखर समुहलाई साइजमा राख्न सो समुहका प्रभावशाली नेताको ठाउँमा गठबन्धनलाई दिनपर्ने बहाना बनाएर छाडने योजनामा हुनुहुन्छ । सभापति देउवाको यो भित्री षडयन्त्र बुझेपछि शेखर मैदानमा उत्रनुभएको छ । गत बुधबारको बैठकमा कांग्रेसले ८८ सिट लिने र त्यसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको लागि दुई निर्वाचन क्षेत्र छाड्ने देउवाको प्रस्ताव थियो । त्यसमा समझदारी नभएपछि आज पुनः बैठक बोलाइएको छ ।

बैठक बस्ने बेला कांग्रेस नेता कोइरालाले भने सय सिटको अडानबाट पछि हट्न नहुने भन्दै त्यसो गरिए कांग्रेसका आकांक्षीहरुलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताउनु भयो । कांग्रेसमा विद्रोह आउने स्थितिले गठबन्धनलाई पनि लाभ नहुने भन्दै कोइरालाले आफ्नो कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत सुनाएको बताउनु भयो ।

‘कांग्रेसले सयभन्दा कम सिटमा सम्झौता गर्ने हुन्न । गरेमा पार्टीभित्रको असन्तुष्टि बढ्ने र त्यसले धेरै ठाउँमा विद्रोहको स्थिति आउने खतरा छ,’ नेता कोइरालाले भन्नुभयो, ‘गठबन्धन बनाउने भनेको चुनाव जित्नका लागि हो । देशभर जनाधार भएको ठूलो पार्टीभित्रै असन्तुष्टि भए कसरी गठबन्धनले सफल हुन्छ ?’

कोइरालाले पार्टीभित्रको टिकट वितरण पनि न्यायोजित रुपमा हुनुपर्ने बताउनु भयो । टिकट वितरणमा न्यायोजित हुन सकेन भने भागबण्डाको प्रश्न उठ्ने बताउनु भयो ।

‘अझै मैले भागबण्डाको कुरा गरिरहेको छैन । जहाँ जसले जित्ने बलियो आधार छ, उसलाई कुन गुटको भन्ने कारणबाट रोक्ने होइन । जित्न सक्नेलाई टिकट दिनुपर्छ, यसो गर्दा न्यायोजित हुन्छ, न्यायोजित निर्णय लिदा सम्म भागबण्डा खोज्ने काम हुन्न,’ कोइरालाले भन्नुभयो ।