जनता टाइम्स

२० भाद्र २०७९, सोमबार ०९:२५

मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा


काठमाडौं, १९ भदौ । कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

ठेक्का सम्झौताअनुसार समयमै मल नल्याएका दुई नेपाली कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयमा मन्त्रालयले सिफारिस गरेको कृषि विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।‘सिल्क (जेभी) र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएका छौं’, प्रवक्ता सञ्जेलले भन्नुभयो।

आर्थिक वर्ष २०७८/७९ का लागि यी दुई कम्पनीले ५० हजार टन युरिया र ५ हजार मेट्रिक टन डीएपी गरी कुल ५५ हजार मेट्रिकटन मल आयातको सम्झौता गरेका थिए । सम्झौता अवधि सकिएको २ देखि ६ महिनासम्म पनि कारबाही नगरी मल ल्याउन समय दिंदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर कृषि सामग्रीले धरौटी जफत गरेको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

तर, कम्पनीको कारबाहीविरुद्ध उच्च अदालतमा रिट परेपछि थप कारबाही रोकिएकोमा अहिले अदालतले कालोसूची सिफारिसको बाटो खोलिदिएको कम्पनीका कार्कीको भनाइ छ ।‘कालोसूचीमा राख्न सिफारिस गरेका छौं, खरिद अनुगमन कार्यालयले अवधि तोकेर निर्णय गर्ला’, कार्कीले भन्नुभयो ।